सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

स्विट्जरल्याण्ड–नेपाल मित्रताको ७० वर्ष झल्काउने ‘ब्रिजिङ नेसन्स’ फोटो पुस्तक सार्वजनिक

स्विट्जरल्याण्ड–नेपाल मित्रताको ७० वर्ष झल्काउने ‘ब्रिजिङ नेसन्स’ फोटो पुस्तक सार्वजनिक

काठमाडौं  । स्विट्जरल्याण्ड र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा “ब्रिजिङ नेसन्स – स्विट्जरल्याण्ड–नेपाल मित्रताको ७० वर्ष” नामक स्मारक फोटोपुस्तक सार्वजनिक गरिएको छ । सात दशकदेखि दुई देशबीच कायम विश्वास, सहकार्य र साझा उपलब्धिलाई समेटिएको उक्त पुस्तक विशेष समारोहबीच सार्वजनिक गरिएको हो ।

समारोहमा नेपालका पूर्व अर्थमन्त्री  रामेश्वर प्रसाद खनाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने स्विट्जरल्याण्डको संघीय विदेश मामिला विभागअन्तर्गत एशिया तथा प्रशान्त महाशाखाका प्रमुख Markus Leitner को पनि सहभागिता रहेको थियो ।

सन् १९५६ देखि सुरु भएको नेपाल–स्विट्जरल्याण्ड कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको कार्यक्रममा दुई देशबीचको दीर्घकालीन मित्रता र विकास साझेदारीलाई विशेष रूपमा स्मरण गरिएको थियो । कार्यक्रममा विशेषगरी नेपालको झोलुङ्गे पुल कार्यक्रमलाई सफल द्विपक्षीय सहकार्य र समावेशी विकासको उत्कृष्ट नमूनाका रूपमा प्रस्तुत गरिएको थियो ।

फोटोपुस्तकमा नेपालको दुर्गम भेगलाई जोड्ने झोलुङ्गे पुलहरूको ऐतिहासिक यात्रा, त्यसको विकासक्रम र जनजीवनमा परेको प्रभावलाई तस्वीरमार्फत प्रस्तुत गरिएको छ । प्रारम्भिक चरणमा जम्मा २९ वटा पुलबाट सुरु भएको कार्यक्रम सन् २०२३ सम्म आइपुग्दा १० हजारभन्दा बढी पुल निर्माणसम्म पुगेको उल्लेख गरिएको छ । ती पुलहरूले दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई शिक्षा, स्वास्थ्य, बजार तथा अन्य आधारभूत सेवासँग जोड्न महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।

नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत Danielle Meuwly ले कार्यक्रममा बोल्दै पुलको संख्या मात्रै ठूलो उपलब्धि नभई त्यसले परिवर्तन गरेका जनजीवन नै सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताउनुभयो । उहाँले यो सफलता नेपालका लागि मात्र नभई नेपालसँग मिलेर प्राप्त गरिएको उपलब्धि भएको उल्लेख गर्दै नेपाल सरकारको नेतृत्व, स्थानीय समुदायको समर्पण र नेपाली इन्जिनियरहरूको दक्षताको प्रशंसा गर्नुभयो ।

समारोहको समापन मन्तव्यका क्रममा Markus Leitner ले नेपाल र स्विट्जरल्याण्डबीचको सहकार्यले भूगोल मात्र नभई मानिस र राष्ट्रलाई समेत जोड्ने काम गरेको बताउनुभयो । उहाँले नेपालको झोलुङ्गे पुल कार्यक्रमलाई प्रभावकारी अन्तर्राष्ट्रिय सहकार्यको विश्वस्तरीय नमूनाका रूपमा लिइने गरिएको उल्लेख गर्दै यसले लाखौँ नागरिकको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको धारणा राख्नुभयो ।

“ब्रिजिङ नेसन्स – स्विट्जरल्याण्ड–नेपाल मित्रताको ७० वर्ष” फोटोपुस्तकले दुई देशबीचको मित्रता, विकास सहकार्य र साझा उपलब्धिलाई उजागर गरेको आयोजकहरूले बताएका छन् । साथै, भविष्यमा पनि दुवै देशबीच सहकार्य र विकासका नयाँ आयाम विस्तार गर्न यसले प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend