काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङ जिल्ला कार्यसमिति सदस्य टेक पुन मगरले सरकारले वास्तविक सुकुम्बासीहरूको समस्या समाधानतर्फ काम गरिरहेको दाबी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सुकुम्बासी व्यवस्थापनको नाममा अनावश्यक विरोध, जुलुस, हडताल र राजनीतिक चलखेल गर्नेहरूलाई सरकारले छानबिन गरी कारबाही गर्ने विश्वास व्यक्त गरेका हुन्।
उनले विगतदेखि सुकुम्बासी समस्यालाई राजनीतिक स्वार्थका लागि प्रयोग गरिएको आरोप लगाउँदै केही राजनीतिक दलका स्थानीय कार्यकर्ता तथा समूहहरूले समाधानभन्दा समस्या बल्झाउने काम गरिरहेको बताएका छन्। कांग्रेस, एमाले र माओवादीसँग आबद्ध केही व्यक्तिहरूले विभिन्न ठाउँमा समूह बनाएर वास्तविक समाधानको बाटो अवरुद्ध गर्न खोजिरहेको उनको दाबी छ।
“सरकारले वास्तविक सुकुम्बासीहरूको व्यवस्थापन गर्न थालेपछि केही राजनीतिक दलहरूको ‘राजनीतिक पसल’ बन्द हुने डर देखिएको छ,” उनले फेसबुक पोस्टमा उल्लेख गरेका छन्।
टेक पुन मगरले सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान गर्न राजनीतिक हस्तक्षेपभन्दा तथ्य र वास्तविक अवस्थाको आधारमा काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले वास्तविक भूमिहीन र अव्यवस्थित बसोबासी नागरिकलाई न्याय दिलाउन सरकार दृढ भएर अघि बढ्नुपर्ने बताएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend