काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले आफ्नो ३१औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ। सोमबार आयोजित विशेष समारोहमा महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले व्यवसायको एकता, नीतिगत सुधार र आधुनिक प्रविधि अपनाउनुपर्नेमा जोड दिएका छन्।
काठमाडौंको बालाजु बाइसधारामा आयोजित कार्यक्रममा महासंघका पूर्वअध्यक्ष, सल्लाहकार, केन्द्रीय पदाधिकारी, प्रदेश तथा जिल्ला समितिका प्रतिनिधि, व्यवसायी, पत्रकार, कलाकार तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अवसरमा रक्तदान, सांस्कृतिक प्रस्तुति, खेलकुद तथा बनभोजजस्ता विविध गतिविधिहरू आयोजना गरिएको थियो।
अध्यक्ष श्रेष्ठले ३१ वर्षअघि सानो सोचबाट सुरु भएको महासंघ आज सशक्त संस्थाको रूपमा स्थापित भएको उल्लेख गर्दै यस यात्रामा एकता र प्रतिबद्धता मुख्य आधार रहेको बताए। “हामीले धेरै चुनौतीहरू पार गर्दै यहाँसम्म आइपुगेका छौं, तर सबैभन्दा महत्वपूर्ण कुरा हामी सधैं एकताबद्ध भएर अघि बढ्यौं,” उनले भने।
उनले महासंघले संघीय संरचनाअनुसार संगठन विस्तार गर्दै सात प्रदेशमध्ये तीन प्रदेशमा समिति गठन गरिसकेको र अन्य प्रदेशमा पनि प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए। काठमाडौं जिल्लामा मात्र आठ वटा महानगर तथा नगर समिति गठन भइसकेको उल्लेख गर्दै उनले स्थानीय तहसम्म संगठन विस्तारमा जोड दिएका छन्।
अध्यक्ष श्रेष्ठका अनुसार आफ्नो कार्यकालमा करिब १०० वटा औपचारिक बैठक सम्पन्न भएका छन् र ती बैठकबाट भएका निर्णयहरूको कार्यान्वयनबारे मूल्यांकनसमेत गरिएको छ। उनले महासंघलाई गलत दिशातर्फ जान नदिएको दाबी गर्दै व्यवसायीहरूको हकहितका लागि विभिन्न सरकारी निकायसँग निरन्तर संवाद र पहल गरिएको बताए।
उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानसँग सहकार्य गरी वेल्डिङ तालिम कार्यक्रम सञ्चालनको तयारी भइरहेको जानकारी दिँदै यसले दक्ष जनशक्ति अभाव समाधान गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा उनले बढ्दो मूल्यवृद्धिका कारण व्यवसायीहरू मारमा परेको उल्लेख गर्दै पुराना दररेटमा लिएका कामहरू पूरा गर्न कठिनाइ भएको बताए। यस्तो अवस्थामा ग्राहकसँग सहकार्य गर्दै समाधान खोज्न उनले व्यवसायीहरूलाई आग्रह गरे।
अध्यक्ष श्रेष्ठले व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउन बीमा तथा सामाजिक सुरक्षा कोषमा आबद्ध हुन व्यवसायीहरूलाई अपिल गर्दै आगामी दिनमा व्यवसायको ग्रेडिङ, सीप प्रमाणपत्र अनिवार्य गर्ने र मापदण्डभित्र रहेर व्यवसाय सञ्चालन गर्ने योजना रहेको बताए।
उनले सामूहिक खरिद प्रणालीमार्फत लागत घटाउने र प्रतिस्पर्धात्मक क्षमता बढाउने विषयमा पनि छलफल भइरहेको जानकारी दिए। साथै, महासंघको ३ वर्षे कार्यकाल सकिएको उल्लेख गर्दै आगामी एक वर्षभित्र १०औं अधिवेशन सम्पन्न गर्ने र नयाँ नेतृत्व चयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा उनले व्यवसायी मात्र नभई जिम्मेवार नागरिकको भूमिकामा पनि सक्रिय हुनुपर्नेमा जोड दिँदै रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्वलाई बलियो बनाउने विश्वास व्यक्त गरे। “हामीले गरेको सानो सहयोगले कसैको जीवन बच्न सक्छ,” उनले भने।
अध्यक्ष श्रेष्ठले नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै महासंघलाई थप सुदृढ, व्यवस्थित र आधुनिक बनाउँदै लैजान सबै व्यवसायीलाई एकजुट भएर अघि बढ्न आह्वान गरे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend