काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष डा तारानाथ लुईटेलले प्रधानमन्त्री बालेन शाह नेतृत्वको एक महिने कार्यकालको खुलेर प्रशंसा गर्दै परम्परागत राजनीतिक दलहरूमाथि कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक आफ्नो धारणा राख्दै उनले कांग्रेस, एमाले र पुरानो माओवादी हाल नेपाली कम्युनिष्ट पार्टी जस्ता दलहरूले बालेन सरकारको कामको विरोध गर्नुको कारणमाथि गम्भीर प्रश्न उठाएका छन्।
उनले लेखेका छन् कि वर्षौंदेखि सत्तामा बसेर पनि देश विकास गर्न नसक्ने दलहरूले अहिले जनताका लागि काम गर्न थालेको नेतृत्वलाई अनावश्यक रूपमा आलोचना गर्नु उचित होइन। उनका अनुसार ती दलहरूले जनतालाई सधैं ‘भोट बैंक’ का रूपमा मात्र प्रयोग गर्दै आएको आरोप लगाए।
डा लुईटेलले आफ्नो अभिव्यक्तिमा भ्रष्टाचारको मुद्दालाई पनि जोड्दै भनेका छन् कि विगतका शासकहरूले देशको स्रोतसाधन दुरुपयोग गरी सम्पत्ति विदेशमा थुपारेको आरोप लाग्दै आएको छ, तर त्यसको जवाफदेहिता कहिल्यै स्पष्ट रूपमा देखिएको छैन। यस्तो पृष्ठभूमिमा बालेन नेतृत्वले छोटो समयमै केही फरक गर्ने प्रयास गरेको दाबी उनले गरेका छन्।
उनले एक महिनाको अवधिमा भएका कामहरूको मूल्यांकन गर्दा जनअपेक्षाअनुसार सुधारका संकेत देखिएको उल्लेख गरेका छन्। यद्यपि, उनले समग्र परिवर्तनका लागि अझै धेरै काम गर्न बाँकी रहेको पनि स्वीकार गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend