काठमाडौं । बरिष्ठ राजनीतिज्ञ गोबिन्द निरौलाले सुकुम्बासीको नाममा राजनीतिक आधार क्षेत्र निर्माण गर्ने प्रवृत्तिप्रति तीव्र असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आउँदा दिनमा काठमाडौं केन्द्रित राजनीति गर्ने नेताहरूले सुकुम्बासीलाई “हुकुम्बासी” बनाउँदै भीड जम्मा गर्ने अभ्यास त्याग्नुपर्ने बताएका हुन्।
निरौलाले सुकुम्बासीको मुद्दालाई संवेदनशील सामाजिक समस्या भन्दै त्यसलाई राजनीतिक लाभका लागि प्रयोग गर्नु घृणित कार्य भएको उल्लेख गरेका छन्। “यदि सुकुम्बासी बटुलेर राजनीति गर्ने हो भने सिराहा–सप्तरीको मैदानतर्फ जान सुझाव दिन्छु,” उनले लेखेका छन्, “राजधानीलाई अनियन्त्रित बसोबासको केन्द्र बनाउने काम रोकिनुपर्छ।”
उनले भौगोलिक सन्तुलनका आधारमा बसोबास व्यवस्थापन गर्नुपर्ने धारणा राख्दै हेटौंडा पूर्वका सुकुम्बासीलाई सिराहा, सप्तरी, सर्लाही र महोत्तरी क्षेत्रमा, हेटौंडा पश्चिमतर्फका सुकुम्बासीलाई कृष्णनगर आसपास, दाङ उपत्यकाभित्रकालाई दाङ–नेपालगञ्ज क्षेत्रमा तथा सुदूरपश्चिमतर्फका सुकुम्बासीलाई कैलाली, कञ्चनपुर र बर्दिया क्षेत्रमा व्यवस्थापन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
निरौलाले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई उत्पादन र निर्माणजस्ता कार्यमा संलग्न गराउने नीति आवश्यक रहेको पनि जोड दिएका छन्। “नीति स्पष्ट भए मात्रै समस्या समाधान सम्भव हुन्छ,” उनले उल्लेख गरेका छन्। राजधानी काठमाडौंलाई व्यवस्थित र सफा राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको आग्रह छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend