काठमाडौं । वरिष्ठ पत्रकार बिन्दुकान्त घिमिरेले सुकुम्बासी पहिचान र व्यवस्थापनको विषयमा कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले भौतिक रूपमा सक्षम व्यक्तिहरूलाई सुकुम्बासीको सूचीमा राख्नु अन्यायपूर्ण हुने बताएका हुन्।
घिमिरेले आफ्नो पोस्टमा उल्लेख गरेका छन् कि हातमा एक लाख रुपैयाँ बराबरको मोबाइल फोन, एक तोला सुन तथा तीन लाख रुपैयाँ मूल्यको मोटरसाइकल हुने व्यक्तिलाई केवल जग्गा नहुँदैमा सुकुम्बासी भन्न नमिल्ने तर्क प्रस्तुत गरेका छन्। उनका अनुसार सुकुम्बासीको परिभाषा वास्तविक गरिब, भूमिहीन र जीविकोपार्जनका आधार नभएका व्यक्तिमा केन्द्रित हुनुपर्छ।
उनले नेपालका धेरै सुगम स्थानहरूमा एक लाख रुपैयाँमै वर्षमा तीन बाली लगाउन मिल्ने तीन रोपनी जमिन किन्न सकिने उदाहरण दिँदै यस्तो जमिनले एउटा परिवार सहज रूपमा पाल्न सक्ने बताएका छन्। त्यसैले आर्थिक रूपमा केही हदसम्म सक्षम व्यक्तिहरूले सुकुम्बासीको नाममा राज्यको सुविधा लिन खोज्नु गलत प्रवृत्ति भएको उनको भनाइ छ।
नेपालमा सुकुम्बासी समस्या लामो समयदेखि जटिल सामाजिक र राजनीतिक बहसको विषय बन्दै आएको छ। वास्तविक सुकुम्बासीको पहिचान, व्यवस्थापन र पुनर्स्थापनामा स्पष्ट मापदण्ड आवश्यक रहेको चर्चा भइरहँदा घिमिरेको अभिव्यक्तिले बहसलाई थप तातो बनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend