सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुकुम्बासी बस्ती हटाउने सरकारी पहल र व्यवस्थापनको बहस तीव्र

सुकुम्बासी बस्ती हटाउने सरकारी पहल र व्यवस्थापनको बहस तीव्र

 काठमाडौं । थापाथली क्षेत्रबाट सुकुम्बासी बस्ती हटाउने सरकारी पहल सुरु भएसँगै यो विषय पुनः राष्ट्रिय बहसको केन्द्रमा आएको छ। यसै सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमा राजनीतिज्ञ गोबिन्द निरौलाले बस्ती व्यवस्थापनबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।

उनले थापाथलीबाट सुरु भएको बस्ती हटाउने कार्यलाई सकारात्मक भन्दै टेकु, पचली, ह्युमत, कालीमाटी, मनोहरा किनार, धोबीखोला, बागमती, साङ्लेखोला, टुकुचा, गल्फुटार फाँट, पशुपति क्षेत्रलगायतका स्थानमा रहेका सुकुम्बासी बस्तीहरू पनि हटाउनुपर्ने बताएका छन्। साथै सम्बन्धित क्षेत्रका बासिन्दालाई उजुरी दिन आह्वान गर्दै ‘सुकुम्बासी’को नाममा बसोबास गर्नेहरूको क्षेत्र पहिचान गरी व्यवस्थापन गर्नुपर्ने उल्लेख गरेका छन्।

निरौलाले वास्तविक सुकुम्बासीको पहिचान गरेर सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, बाँके, बर्दिया, कैलाली, कृष्णनगर र कञ्चनपुर क्षेत्रमा ब्लक प्रणालीमार्फत पुनःस्थापना गर्न प्रस्ताव गरेका छन्। उनका अनुसार प्रत्येक ब्लकमा ५०० घरधुरी राखेर बसोबासको व्यवस्था गर्न सकिन्छ र प्रत्येक परिवारलाई एक कठ्ठा जग्गा तथा आवास उपलब्ध गराउन राज्य सक्षम रहेको दाबी गरेका छन्।

उनले पशुपतिनाथ मन्दिर आसपासका बस्तीहरूलाई मुआब्जा दिएर पनि हटाउन नसकिएको भन्दै तत्काल हटाई सो जमिनको उचित उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।

यद्यपि सुकुम्बासी बस्ती हटाउने विषय संवेदनशील भएकाले सरोकारवालाहरूले दीर्घकालीन समाधान, मानवअधिकार, वैकल्पिक बसोबास र जीविकोपार्जनका पक्षलाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै आएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend