काठमाडौं । सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको निर्णयप्रति प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष डा. तारानाथ लुइटेलले असहमति जनाएका छन्। सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले वास्तविक सुकुम्बासी र ‘हुकुम्बासी’बीच स्पष्ट भिन्नता छुट्याउन नसकी गरिएको कारबाही अन्यायपूर्ण हुने बताएका हुन्।
उनका अनुसार भावनात्मक तथा राजनीतिक प्रभावका कारण सुकुम्बासीको नाममा ५०–६० प्रतिशतसम्म नक्कली दाबीदार हुन सक्ने भए पनि बाँकी रहेका वास्तविक भूमिहीनमाथि अन्याय गर्न नहुने बताए। “यदि केही नक्कली छन् भन्दैमा वास्तविक सुकुम्बासीमाथि डोजर चलाउने अधिकार कसले दियो?” उनले प्रश्न गरे।
डा. लुइटेलले ‘हुनेखाने’ र वास्तविक भूमिहीनबीच छुट्याउन अधिकार सम्पन्न आयोग गठन गर्नुपर्ने माग राख्दै राज्यले आफ्नो जिम्मेवारी पूरा नगरी कठोर कदम चाल्नु उचित नहुने बताए। “कसैको सन्तानको छातीमा डोजर चलाउनुअघि राज्यले आफ्नो दायित्व सम्झनुपर्छ,” उनले जोड दिए।
उनले विगतमा विभिन्न राजनीतिक स्वार्थका लागि सुकुम्बासीलाई प्रयोग गरिएको स्वीकार गर्दै त्यसको सजाय गरिब जनताले भोग्न नहुने धारणा व्यक्त गरे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend