सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

साम्पाङको प्रश्न- रवीजी, तपाईंको रास्वपाको निर्णय हो त सुकुम्बासी बस्ती भत्काउने ?

साम्पाङको प्रश्न- रवीजी, तपाईंको रास्वपाको निर्णय हो त सुकुम्बासी बस्ती भत्काउने ?

 काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले सुकुम्बासी बस्ती खाली गराउने तयारी अघि बढाएको विषयमा कडा आपत्ति जनाएका छन्। शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत दुईवटा धारणा सार्वजनिक गर्दै उनले सरकारको प्राथमिकता धनी वर्गतर्फ झुकेको आरोप लगाएका हुन्।

साम्पाङले आफ्नो अभिव्यक्तिमा सरकारको मूल दायित्व कमजोर र निमुखा नागरिकको संरक्षण गर्नु रहेको उल्लेख गर्दै, गरिब जनताको पीडा बेवास्ता गर्ने प्रवृत्तिको आलोचना गरेका छन्। उनले लेखेका छन्, ‘अरूको रोदन र चित्कारलाई संगीत नठान। गरिबको पीर र व्यथा बुझ्न नसक्ने धनी र ठालु सरकार समस्या हो। गरिबको आत्मालाई रुवाएर सत्ता टिके पनि त्यो सफलता होइन।’

उनले सरकारलाई सचेत गराउँदै सामाजिक न्यायको पक्षमा उभिन आग्रह गरेका छन्। ‘सरकार भनेको धनीको लागि होइन, गरीब र निमुखाको लागि बन्नुपर्छ। हिँड्न नसक्नेलाई काँध हाल्ने पो सरकार, वैशाखी खोस्ने होइन,’ उनले उल्लेख गरेका छन्।

त्यसैगरी, साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै सुकुम्बासी बस्ती भत्काउने निर्णय पार्टीकै नीति हो कि होइन भनी प्रश्न उठाएका छन्। उनले विगतमा सुकुम्बासीलाई धनीपूर्जा दिने प्रतिबद्धता जनाएर मत मागिएको प्रसंग स्मरण गराउँदै वर्तमान कदमप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

‘रवीजी, तपाईंको रास्वपाको निर्णय हो त सुकुम्बासी बस्ती भत्काउने? हिजो मात्रै धनीपूर्जा दिने वाचा गरेर भोट माग्नुभएको होइन र?’ उनले प्रश्न गरेका छन्।

साम्पाङले विलासी जीवन बिताउने शासक वर्गले सुकुम्बासीको वास्तविक पीडा कहिल्यै नबुझ्ने टिप्पणी गर्दै राज्यको संवेदनशीलता माथि प्रश्न उठाएका छन्। ‘करोडौँको महलमा सुरक्षा फौजसहित आराम गर्ने शासकलाई घर टहरा गुमाएर पुलमुनि रात बिताउनेहरूको पीडा थाहा हुँदैन,’ उनले भनेका छन्।

सरकारले सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिन खोजिरहेका बेला यस विषयमा विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रबाट फरक–फरक धारणा सार्वजनिक भइरहेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend