काठमाडौं । जेनजी अभियन्ता रक्षा बम ले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्देशनप्रति कडा असन्तुष्टि जनाएकी छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुरक्षा निकायका प्रमुखहरूलाई दिएको निर्देशनलाई ‘अपरिपक्व’ मात्र नभई जनताप्रति ‘राजनीतिक बेइमानी’ भएको टिप्पणी गरेकी छन्।
प्रधानमन्त्री शाहले बुधबार सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर अतिक्रमित क्षेत्र खाली गराउन निर्देशन दिएका थिए। सोही विषयमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बमले लेखेकी छन्, “बालेन, तपाईंले जानेकै यत्ति हो? यदि यस्तै हो भने, यो तपाईंको अपरिपक्वता मात्र होइन, जनताप्रति सिंगो रास्वपाको राजनीतिक बेइमानी हो।”
सरकारले अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिने संकेत गरेसँगै सुकुम्बासी बस्तीका बासिन्दा र अधिकारकर्मीहरूबाट मिश्रित प्रतिक्रिया आइरहेको छ। बालेनले प्रहरी प्रशासनलाई सबै अवरोधबाट हटेर अतिक्रमण हटाउन निर्देशन दिएको बताइएको छ।
यस विषयमा राजनीतिक वृत्तमा बहस तीव्र बन्दै गएको छ। एकातर्फ कानुन कार्यान्वयनको पक्षमा आवाज उठिरहेका छन् भने अर्कोतर्फ मानवीय संवेदनशीलता र दीर्घकालीन पुनर्वासको व्यवस्था नगरी गरिने कदमले सामाजिक तनाव बढाउने चिन्ता व्यक्त भइरहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend