काठमाडौं । राजनीतिज्ञ गोबिन्द निरौलाले देशको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै निरंकुशताले मुलुकलाई जोगाउन नसक्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अब झुकिएर बस्नुको कुनै अर्थ नरहेको उल्लेख गरेका छन्।
निरौलाले पूर्वराजा ज्ञानेन्द्रको शासनकालतर्फ संकेत गर्दै होस् वा सशस्त्र द्वन्द्वकालमा माओवादी नेतृत्वले स्थापित गर्न खोजेको शासन प्रणालीप्रति इङ्गित गर्दै कुनै पनि प्रकारको निरंकुशता देशका लागि हितकर नहुने बताएका छन्। उनले निरंकुश शासन प्रणालीले न त जनताको अधिकार सुनिश्चित गर्न सक्छ न त देशको दीर्घकालीन स्थायित्व कायम गर्न सक्छ भन्ने धारणा राखेका छन्।
उनले देश बचाउनका लागि संवैधानिक सर्वोच्चता कायम गर्दै समावेशी प्रजातन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। निरौलाका अनुसार जनताको अधिकार, सहभागिता र समानताको आधारमा निर्माण भएको लोकतान्त्रिक प्रणाली नै मुलुकको स्थायित्व र समृद्धिको आधार बन्न सक्छ।
साथै, उनले सुशासन कायम गर्न, उद्योग उत्पादन बढाउन र व्यवस्थित बजारको विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। यस्ता कदममार्फत मात्रै देशलाई आर्थिक रूपमा सबल बनाउँदै समृद्धितर्फ अघि बढ्न सकिने उनको भनाइ छ। निरौलाले अन्त्यमा देश र जनताको संरक्षणका लागि सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend