सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

तातो लहरको चेतावनीसँगै हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना

तातो लहरको चेतावनीसँगै हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ, जसका कारण नेपालको मौसम मिश्रित अवस्थामा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रभावले विशेषगरी हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना बढाएको छ।

महाशाखाद्वारा जारी मौसम बुलेटिन अनुसार आज कोशी प्रदेशका पहाडी तथा तराई भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी भू–भागमा पनि आंशिक बादल लाग्नेछ। यता अन्य तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।

देशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ। यसले उच्च हिमाली क्षेत्रमा यात्रा गर्ने तथा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसैबीच मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका तथा खोँचहरूमा अत्यधिक गर्मी हुने सम्भावना देखिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेकोले जनजीवन प्रभावित हुन सक्ने आँकलन गरिएको छ।

महाशाखाका अनुसार आज राति हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। साथै कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहने जनाइएको छ।

मौसमविद्हरूले तातो लहर तथा चट्याङसहितको वर्षाबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend