सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा विश्वविद्यालयका उपकुलपतिसँग आज छलफल

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा विश्वविद्यालयका उपकुलपतिसँग आज छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले आज विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग महत्वपूर्ण छलफल गर्ने भएका छन्। बैठक दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा बस्ने तय गरिएको छ।

प्रधानमन्त्री शाहले कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलका लागि बोलाएका हुन्। बैठकमा विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा देखिएका समसामयिक समस्या र तिनका समाधानका उपायबारे विस्तृत विमर्श हुने जनाइएको छ। साथै तत्काल समाधान गर्न सकिने विषयहरूमा केन्द्रित छलफल हुने बताइएको छ।

छलफलमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय का उपकुलपति सहभागी हुनेछन्।

यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय का उपकुलपतिहरूको पनि उपस्थिति रहनेछ।

त्यस्तै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय का उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले संवाद गर्ने कार्यक्रम छ।

यसका साथै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान का उपकुलपतिहरूसँग पनि छलफल हुनेछ। कर्णाली, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू पनि उक्त बैठकमा सहभागी हुने जनाइएको छ।

सरकारले उच्च शिक्षा क्षेत्रमा देखिएका चुनौती समाधान गर्दै गुणस्तर सुधारका लागि आवश्यक नीतिगत र व्यवस्थापकीय पहल अघि बढाउने संकेतस्वरूप यो छलफललाई महत्वपूर्ण रूपमा हेरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend