सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाललाई उपनिवेश बनाउने प्रयास नगरियोस्ः तारानाथ लुइटेल

नेपाललाई उपनिवेश बनाउने प्रयास नगरियोस्ः तारानाथ लुइटेल

काठमाडौं। प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष तारानाथ लुइटेलले २०६२/६३ यता भएका भ्रष्टाचारका घटनासम्बन्धी सम्पत्ति छानबिन गर्न समिति गठन गरिएकोमा सरकारलाई धन्यवाद व्यक्त गरेका छन्। उनले बालेन शाह नेतृत्वको सरकारको यो कदमले सुशासनतर्फ सकारात्मक संकेत दिएको बताएका हुन्।

लुइटेलले विगतदेखि जरा गाडेको भ्रष्टाचार नियन्त्रण गर्न सम्पत्ति छानबिन अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यसले राज्यप्रति नागरिकको भरोसा बढाउने विश्वास व्यक्त गरे। उनका अनुसार, ६२/६३ को जनआन्दोलनपछि पनि अपेक्षित पारदर्शिता र जवाफदेहिता कायम हुन नसकेको सन्दर्भमा यस्तो पहल स्वागतयोग्य छ।

तर उनले यसैबीच सरकारको केही नीतिगत कदमप्रति गम्भीर चिन्ता पनि व्यक्त गरेका छन्। बफर स्टेट अवधारणाको नाममा नेपालमाथि कुनै बाह्य प्रभाव वा दबाब सिर्जना गर्ने प्रयास भइरहेको हो भने त्यो अत्यन्तै दुर्भाग्यपूर्ण हुने उनको भनाइ छ। उनले नेपाललाई कुनै पनि प्रकारको उपनिवेश बनाउने सोचप्रति कडा आपत्ति जनाए।

लुइटेलले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्न सबै राजनीतिक दल र नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनले सरकारलाई पारदर्शिता कायम राख्दै राष्ट्रिय हित विपरीतका कुनै पनि सम्झौता नगर्न सचेत गराएका छन्। उनले भ्रष्टाचारविरुद्धको अभियानलाई निष्पक्ष र प्रभावकारी बनाउँदै वास्तविक दोषीमाथि कडा कारबाही गर्न आग्रह गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend