सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ओखलढुंगामा विमानस्थल र प्रादेशिक अस्पताल निर्माण प्राथमिकतामा : सांसद पोखरेल

ओखलढुंगामा विमानस्थल र प्रादेशिक अस्पताल निर्माण प्राथमिकतामा : सांसद पोखरेल

काठमाडौं ।  सांसद विश्वराज पोखरेलले आफ्नो कार्यकालमा खिजिदेम्बा विमानस्थल र मानेभञ्ज्याङ गाउँपालिकास्थित प्रादेशिक अस्पताल निर्माणलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा ओखलढुंगाका स्थानीय प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा उहाँले जिल्लाको विकासका लागि यी दुवै आयोजना अत्यावश्यक रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार जिल्लावासीले सडक, पुल, खानेपानी, स्वास्थ्य, शिक्षा तथा विद्युतीकरणका समस्या प्राथमिकताका साथ उठाउँदै आएका छन् । ती समस्यालाई सम्बोधन गर्न स्थानीय तहबाट संकलित योजनाहरू “योजना बैंक” मा दर्ता गरी सम्बन्धित मन्त्रालयमार्फत बजेट सुनिश्चित गर्ने प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलमा निर्माणाधीन प्रादेशिक अस्पतालको विषयमा बोल्दै सांसद पोखरेलले स्थानीयको योगदान र अपेक्षालाई सम्मान गर्नुपर्ने बताउनुभयो । अस्पताल निर्माणका लागि २० परिवारले १६७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराए पनि प्रारम्भिक चरणमा ४५ लाख रुपैयाँ खर्च भएपछि प्रदेश सरकारबाट बजेट नआउँदा निर्माण कार्य रोकिएको छ ।

यस विषयमा असन्तुष्टि जनाउँदै स्थानीयले २०८२ फागुन २१ मा सातसल्ले मतदान केन्द्रमा मतदान बहिष्कारसमेत गरेका थिए । त्यसप्रति ध्यानाकर्षण गर्दै सांसद पोखरेलले नागरिकको माग जायज रहेको र उनीहरूको भावनालाई सम्बोधन गर्न आफूले सरकारको गम्भीर ध्यानाकर्षण गराएको बताउनुभयो ।

उहाँले उक्त अस्पताल निर्माण सम्पन्न भएमा ओखलढुंगासहित सोलुखुम्बु जिल्ला, खोटाङ जिल्ला, रामेछाप जिल्ला, उदयपुर जिल्ला र सिन्धुली जिल्ला का नागरिकले समेत सहज स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।

“मैले  प्रधानमन्त्री बालेन्द्र शाह सँगको भेटमा पनि यो प्रादेशिक अस्पतालसहित जिल्लाका अन्य महत्वपूर्ण योजनाका विषयमा कुरा राखेको छु,” उहाँले भन्नुभयो, “स्थानीयको आवश्यकता र अडानलाई सरकारले उच्च प्राथमिकतामा राख्नेमा म विश्वस्त छु ।”

अस्पताल निर्माणका लागि सक्रिय अभियान चलाउँदै आएका मदन गौतम, अर्जुनकुमार गौतम, नारद गौतम लगायतको टोलीले पनि बिहीबार सांसद पोखरेललाई भेटी ध्यानाकर्षण गराएको थियो । भेटमा कृष्ण थापा र सांसदका स्वकीय सचिव भानु दाहाल को समेत उपस्थिति रहेको थियो ।

गत प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी बाट उम्मेदवार बन्नुभएका पोखरेलले कुमार लुइँटेल लाई ५ मतको झिनो अन्तरले पराजित गर्दै विजयी हुनुभएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend