काठमाडौं । देशको ऐतिहासिक, धार्मिक तथा प्रशासनिक पहिचानलाई पुनर्स्थापित गर्नुपर्ने मागसहित एक राजनीतिज्ञले सरकारसमक्ष विभिन्न सुझाव प्रस्तुत गरेका छन् । राजनीतिज्ञ गोबिन्द निरौला ले नेपालको मौलिक पहिचान, सभ्यता र प्रशासनिक संरचनालाई सुदृढ बनाउन यस्ता प्रस्ताव अघि सारेका हुन् ।
उनले पशुपतिनाथ मन्दिर, लुम्बिनी, स्वयम्भूनाथ स्तूप, बौद्धनाथ स्तूप, पाथिभरा मन्दिर, गढीमाई मन्दिर, जनकी मन्दिर, मनकामना मन्दिर, बराहक्षेत्र, गोकर्णेश्वर मन्दिर, गुह्येश्वरी मन्दिर, पिण्डेश्वर मन्दिर, त्रिवेणीधाम, हलेसी महादेव मन्दिर, स्वर्गद्वारी, मुक्तिनाथ मन्दिर, बडीमालिका मन्दिर, खप्तड राष्ट्रिय निकुञ्ज लगायतका धार्मिक तथा सांस्कृतिक धरोहरहरूलाई राष्ट्रिय पहिचानका आधार स्तम्भका रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।
त्यस्तै, मेची अञ्चल, कोशी अञ्चल, सगरमाथा अञ्चल, जनकपुर अञ्चल, बागमती अञ्चल, नारायणी अञ्चल, गण्डकी अञ्चल, धौलागिरी अञ्चल, लुम्बिनी अञ्चल, कर्णाली अञ्चल, राप्ती अञ्चल, भेरी अञ्चल, सेती अञ्चल र महाकाली अञ्चल जस्ता ऐतिहासिक अञ्चलहरूको पुनर्स्थापनाले प्रशासनिक कार्यलाई अझ प्रभावकारी बनाउन सकिने उनको तर्क छ । उनले प्रदेश संरचना र विगतको अञ्चल प्रणालीबीच तात्विक भिन्नता नभएको दाबी गर्दै पुरानो वैज्ञानिक वर्गीकरणलाई पुनः प्रयोग गर्न आग्रह गरेका छन् ।
पूर्व–पश्चिम राजमार्गलाई महेन्द्र राजमार्ग नामले सम्बोधन गर्न उपयुक्त हुने उल्लेख गर्दै उनले विगतका शासक तथा ऐतिहासिक व्यक्तित्वहरूको योगदानको सम्मान गर्न आवश्यक रहेको बताएका छन् । साथै देशभर विभिन्न स्थानमा तोडफोड गरिएका सालिकहरू पुनःस्थापना गर्नुपर्ने उनको माग छ ।
काठमाडौंको टुँडिखेल क्षेत्रमा विगतमा रहेका चन्द्र शमशेर जंग बहादुर राणा, जुद्ध शमशेर जंग बहादुर राणा र जंग बहादुर राणा का सालिकहरू पुनःस्थापना गर्नुपर्ने उनले बताएका छन् ।
त्यसैगरी, सिनामंगल–३ काठमाडौँस्थित तीनकुने क्षेत्रमा राष्ट्रिय एकताको प्रतीकस्वरूप विभिन्न ऐतिहासिक नेताहरूका सालिकसहित सुन्दर उद्यान निर्माण गर्न प्रस्ताव गरिएको छ । जसअन्तर्गत पृथ्वीनारायण शाह, त्रिभुवन वीर विक्रम शाह, महेन्द्र वीर विक्रम शाह, बिरेन्द्र वीर विक्रम शाह, बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुबर्ण शमशेर राणा, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारी का सालिकहरू राख्न सकिने सुझाव दिइएको छ ।
निरौलाले इतिहास, संस्कृति र राजनीतिक योगदानको सम्मान गर्दै राष्ट्रिय एकता बलियो बनाउन यस्ता संरचनात्मक र सांस्कृतिक पहल आवश्यक रहेको उल्लेख गरेका छन् । उनले सरकारलाई यस्ता विषयमा गम्भीरतापूर्वक ध्यान दिन आग्रह गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend