काठमाडौं । प्रजातान्त्रीक पार्टी नेपालका अध्यक्ष डा. तारानाथ लुईटेलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को राजनीतिक असफलताको प्रमुख कारण उसको असंगत नीति र व्यवहार भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राप्रपाले आफूलाई गणतन्त्रभन्दा फरक विचार बोकेको पार्टी भन्दै भाषण गर्ने तर व्यवहारमा भने गणतान्त्रिक व्यवस्थामै आधारित सरकारमा सहभागी हुने प्रवृत्तिले जनताको विश्वास गुमाएको उल्लेख गरेका छन्।
लुईटेलका अनुसार राप्रपाले राजसंस्था र वैदिक सनातन हिन्दुराष्ट्र पुनःस्थापनाको एजेन्डा उठाउँदै आए पनि व्यवहारमा त्यसको विपरीत देखिएको छ। “गणतन्त्रको विरोध गर्ने तर गणतन्त्रकै सरकारमा जाने–ओर्लने दोहोरो चरित्रले जनतामा भ्रम सिर्जना गर्यो,” उनले भनेका छन्। यही कारणले राप्रपाबाट राजसंस्था पुनःस्थापना सम्भव नरहेको उनको दाबी छ।
उनले गत जेठ १५ गतेदेखि सञ्चालन गरिएको १५ दिने आन्दोलनलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उक्त आन्दोलनले राप्रपाको सीमित प्रभाव र कमजोर जनसमर्थनलाई प्रस्ट पारेको बताएका छन्। “आन्दोलनले नै देखायो—न त जनलहर बन्यो, न त अपेक्षित दबाब सिर्जना गर्न सक्यो,” उनले टिप्पणी गरेका छन्।
लुईटेलले जनताले पनि यही कारणले राप्रपामाथि विश्वास नगरेको र मतदानमा समर्थन नदिएको बताएका छन्। “जनताले व्यवहार हेर्छन्, भाषण होइन,” भन्दै उनले राजनीतिक दलहरूलाई इमान्दार राजनीति गर्न आग्रह गरेका छन्।
उनको यो अभिव्यक्तिले पुनः एकपटक राप्रपाको राजनीतिक लाइन, रणनीति र विश्वसनीयतामाथि प्रश्न उठाएको छ। साथै, वैकल्पिक राजनीतिक शक्तिहरूबीच पनि वैचारिक स्पष्टता र व्यवहारिक इमानदारीको आवश्यकता रहेको सन्देश दिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend