खबरब्रेकिंग, काठमाडौं, बैशाख १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् प्रतिनिधि सभा सदस्यमा पुनः निर्वाचित रवि लामिछानेले बधाई कार्यक्रम नराखिदिन आग्रह गरेका छन ।
मंसिर ४ को निर्वाचनमा ४ हजार ८७६ मत बढी ल्याएर उपनिर्वाचनबाट पुनः निर्वाचित भएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । गत निर्वाचनमा लामिछाने ४९ हजार ३०० मत ल्याएर निर्वाचित भएका थिए। तर, नागरिकता विषयमा सर्वोच्चले उनको पद खारेज गरेसँगै यहाँ उपनिर्वाचन भएको हो।
आज बिहान चितवनको इच्छाकामना क्षेत्रमा केही कार्यक्रमपछि सिधै काममा लाग्न चाहेको भन्दै उनले लेखेका छन्,‘थपिएको मत थपिएको जिम्मेवारी हो । आज इच्छाकामना क्षेत्रमा केही कार्यक्रम पछि, कहीँ पनि बधाई कार्यक्रम नराखिदिनु होला । हामी सिधै काममा लाग्न चाहन्छौं।’ चितवन क्षेत्र नम्बर २ मा वैशाख १० मा भएको उपनिर्वाचनमा रविले ५४ हजार १७६ मत ल्याए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend