बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

चालू आर्थिक वर्षको नौ महिनामा मुलुकको व्यापार घाटा झन्डै ११ खर्ब

चालू आर्थिक वर्षको नौ महिनामा मुलुकको व्यापार घाटा झन्डै ११ खर्ब

खबरब्रेकिंग,काठमाडौं, बैशाख ७ गते । चालू आर्थिक वर्षको नौ महिनामा मुलुकको व्यापार घाटा झन्डै ११ खर्ब रुपैयाँ रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आव २०७९/८० को बितेका नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्यांकनुसार मुलुकको व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार रहेको छ । गत वर्षको सोही अवधिमा नेपालले कुल १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँको व्यापार घाटा बेहोरेको थियो । विभागले अपेक्षाकृत रूपमा व्यापार घाटा घटाउन नसकेको स्विकारेको छ ।

चालू आवको बितेका नौ महिनाको अवधिमा देशको कुल वैदेशिक व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख ५३ हजार रुपैयाँबराबर भएको विभागले जनाएको छ । अघिल्लो आवमा १६ खर्ब २७ अर्ब २३ लाख ४९ हजार रुपैयाँबराबरको कुल वैदेशिक व्यापार भएको थियो । यो अघिल्लो वर्षको तुलनामा १८ दशमलव ८९ प्रतिशतले न्यून हो ।

यस अवधिमा आयातसँगै निर्यातमा पनि कमी आएको तथ्यांकले देखाएको छ । नौ महिनाको अवधिमा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँको आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा १८ दशमलव ८ प्रतिशतले कमी हो ।

यस अवधिमा १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख ६२ हजार रुपैयाँबराबरको निर्यात भएको जनाएको छ । गत वर्ष सोही अवधिमा १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार रुपैयाँको निर्यात गरेको थियो । निर्यात पनि २६ दशमलव ३४ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा भन्सार राजस्व भने केही बढ्न थालेको देखिएको छ । विभिन्न वस्तुमा लगाएको आयात प्रतिबन्ध हटेसँगै एक महिनामै ३३ अर्ब ३२ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको छ । एलसीको मार्जिन हटाएपछि पछिल्लो समय भन्सार राजस्वमा सुधार हुन थालेको हो । यो समाचार राजधानी दैनिकमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend