काठमाडौं, २५ चैत । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आफ्ना एजेन्डा छाडेर कुनै गठबन्धन नगरिने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले भने, “मूल रुपमा नेकपा एमालेको कुनै पार्टीसँग तालमेल छैन । हामी आफ्नै एजेन्डा बोकेर जाँदै छौं । ठाउँ अनुसार एजेन्डा मिल्नेसँग कार्यगत एकता हुन सक्छ । तर हामी आफ्नो एजेन्डा छाडेर गठबन्धन गर्दैनौं । एमालेले महन्थ ठाकुर, राजेन्द्र लिङ्देन, कमल थापा, सीके राउत, नेत्रविक्रम चन्दहरुसँग गठबन्धन गर्छ भन्ने बजारु हल्ला हो ।”
पूर्व ऊर्जामन्त्री समेत रहेका रायमाझीले बूढीगण्डकी आयोजना चिनियाँ कम्पनी गेजुवाबाट खोसेर आफैं बनाउँछु भन्नु उट्पट्याङ भएको आरोप पनि लगाए । उनले भने, “यो सरकारले उट्पट्याङ निर्णय गरिरहन्छ । कहिले खोस्ने, कहिले लिने गर्दा कहिले बनाउने ? ”
साथै उनले प्रतिपक्षी दलको समझदारीबिना निर्वाचन आयोगले आचार संहिता बनाएकाले निर्वाचन प्रतिबद्धता नजनाए पनि स्पष्ट पारे । उनले भने, “आचार संहिताका कतिपय विषयमा हाम्रा असहमति छन् । सरकारले मनपरी ढंगले सर्वोच्च अदालत, निर्वाचन आयोगलाई आफ्नो प्रभावमा पारेको छ । त्यसलाई हामी सफल हुन दिन्नौं ।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend