आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

राज्य पक्षसँग राजनीतिक अधिकारको लडाइ अहिले पनि जारी छः अध्यक्ष यादव

राज्य पक्षसँग राजनीतिक अधिकारको लडाइ अहिले पनि जारी छः अध्यक्ष यादव

 

फाइल तस्बिर

राजविराज २१ चैत । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले देशमा शोषित, पीडितको अधिकार प्राप्त नभएसम्म आफनो पार्टीले अधिकारको राजनीतिक लडाइ लडी रहने बताएका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपामा सडकको आइतबार शिलान्यास गर्ने क्रममा उनले यस्तो बताएका हुन । उनले जनता समाजवादी पार्टीले मधेसी, मुस्लिम तथा शोषित उत्पीडितको लागि लड्दै आइरहेको बताए । राज्य पक्षसँग राजनीतिक अधिकारको लडाइ अहिले पनि जारी रहेको बताउँदै विभेदमा परेको सम्पूर्ण नेपालीहरूका अधिकार प्राप्त नहुञ्जेलसम्म आफू लडाइबाट पछि नहट्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा भौतिक, योजना तथा यातायातमन्त्री रेणुकुमारी यादवले सप्तरीवासीले ४० वर्षसम्म नदेखेको विकास जसपाले गत चार वर्षमा गरेको दाबी गरे । सप्तरीका जनता सदैव सडक, शिक्षा र स्वास्थ्य सुविधाबाट वञ्चित रहेको विषयलाई जसपाले आत्मसात गरेको बताउँदै जसको फलस्वरूप अहिले सप्तरीमा सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापक विकास भएको बताए ।

मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले जसपाले होहल्ला नगरी जनचाहनाअनुसार विकास गरेको र आगामी दिनमा विकासको कार्यलाई प्राथमिकतामा राखेर जनहितमा कार्य गर्ने बताए ।

प्रदेश सांसद मनिष सुमनले अगामी वैशाख ३० गते हुन लागेको स्थानीय निकायको निर्वाचनमा जसपाका उम्मेदवारलाई मत दिई विकास निर्माणको कार्यमा थप तीव्रता दिन आग्रह गरे ।

तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवको अध्यक्षतामा सम्पन्न भएको शिलान्यास कार्यक्रमअन्र्तगत जसपा अध्यक्ष यादवले आजै सप्तरीमा एकै दिन चार वटा सडक निर्माण योजनाको शिलान्यास गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend