काठमाडौँ । काठमाडौँमा पछिल्ला राजनीतिक घटनाक्रमसँगै सुरक्षा चुनौती बढिरहेका बेला गृहमन्त्रालयमा साँझ उच्चस्तरीय सुरक्षा बैठक सम्पन्न भएको छ। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको उक्त बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याललगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
छलफलमा देशभर दिनभर विकसित घटनाक्रम, प्रदर्शनको अवस्था तथा समग्र सुरक्षा परिस्थितिको गम्भीर समीक्षा गरिएको स्रोतले जनाएको छ। विशेषगरी आजको घटनापछि उत्पन्न हुन सक्ने सम्भावित जोखिमहरूलाई ध्यानमा राख्दै आगामी सुरक्षा रणनीति, परिचालन र नियन्त्रणका उपायबारे विस्तृत रूपमा कुराकानी भएको बताइएको छ।
सरकारले हिजो मात्रै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै आज बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको थियो। उक्त घटनाले देशको राजनीतिक वातावरण एकाएक तातिएको छ।
पक्राउको विरोधमा काठमाडौँसहित देशका विभिन्न भागमा प्रदर्शनहरू भड्किएका छन्। काठमाडौँका केही स्थानमा प्रदर्शन उग्र बन्दै जाँदा केहीबेर स्थिति तनावग्रस्तसमेत बनेको थियो। सुरक्षा निकायहरूले संवेदनशील क्षेत्रहरूमा निगरानी बढाउनुका साथै आवश्यक परेको अवस्थामा थप बल परिचालन गर्ने तयारी गरेका छन्।
यसबीच, सरकार एकातिर आयोगको प्रतिवेदन कार्यान्वयनमा दृढ देखिएको छ भने अर्कोतर्फ विपक्षी दलहरूले त्यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै सडक आन्दोलन चर्काउँदै लगेका छन्। विकसित परिस्थितिले देशलाई थप अस्थिरतातर्फ धकेल्ने संकेत देखिएको छ, जसले संवाद, संयमता र जिम्मेवार निर्णयको आवश्यकता झन् बढाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend