काठमाडौँ । पेसागत महासङ्घ नेपालले हालैको राजनीतिक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ट्रेड युनियन खारेज गर्ने किसिमका अभिव्यक्तिप्रति समयमै सचेत रहन सबै पक्षलाई आग्रह गरेको छ। महासङ्घले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत सार्वजनिक प्रशासन सञ्चालनमा संलग्न विभिन्न क्षेत्रका जनशक्तिको भूमिका स्मरण गराउँदै कुनै पनि प्रकारका असत्य, भ्रामक र कानुनविपरीत अभिव्यक्तिले श्रमिक हितमा नकारात्मक असर पार्ने जनाएको हो।
महासङ्घले शिक्षक, निजामती, सार्वजनिक संस्थान, बैंकिङ क्षेत्र, स्थानीय तह, स्वास्थ्य तथा सेवा निवृत्त जनशक्ति लगायतका करिब पाँच लाख भन्दा बढी जनशक्तिको प्रतिनिधित्व गर्दै आएको उल्लेख गर्दै सार्वजनिक प्रशासनमा देखिने विकृति र विसंगतिविरुद्ध सधैं सक्रिय रहेको जनाएको छ। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जालमार्फत २६ वटा राष्ट्रियस्तरका घटक र ५० भन्दा बढी संस्थाहरू आबद्ध रहेको जानकारी पनि दिएको छ।
विज्ञप्तिमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट उदाएको नयाँ शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ। जनताको अभिमतअनुसार शासन सञ्चालन हुने अपेक्षा गर्दै संविधान, अन्तर्राष्ट्रिय कानुन र स्थापित मूल्य–मान्यताका आधारमा देश र जनताको पक्षमा काम गर्नुपर्नेमा महासङ्घले जोड दिएको छ। कुनै पनि सरकारसँग कानुनअनुसार सहकार्य गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै सुशासन कायम गर्ने अभियानमा निरन्तर साथ रहने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
त्यसैगरी, महासङ्घले आम निर्वाचन सम्पन्न गराउन सार्वजनिक प्रशासनका विभिन्न निकायमा कार्यरत जनशक्तिको योगदान महत्वपूर्ण रहेको स्मरण गराउँदै सम्माननीय प्रधानमन्त्री सुशिला कार्कीले निजामती कर्मचारीमाथि असहयोगको आरोप लगाएको विषयप्रति आपत्ति जनाएको छ। यस्तो अभिव्यक्ति दिनु अशोभनीय भएको भन्दै महासङ्घले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासङ्घले निर्वाचन सफल बनाउन निजामतीसहित सम्पूर्ण सरकारी संयन्त्रले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उक्त योगदानको अवमूल्यन नगर्न आग्रह गरेको छ। साथै, राष्ट्रिय प्रकृति संरक्षण कोषमा गरिएको नियुक्ति सम्बन्धी विषयमा उठेका जनआलोचना र असन्तुष्टिप्रति पनि सरकारको ध्यान जानुपर्ने आवश्यकता औंल्याएको छ।
महासङ्घका अध्यक्ष पुण्यप्रसाद ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न अझ प्रभावकारी ढंगले योगदान दिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend