काठमाडौं । निर्वाचन आयोग नेपाल ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई यही चैत ५ गते बिहीबार प्रमाणपत्र वितरण गर्ने तयारी पूरा गरेको छ। आयोगले बिहान ११ः३० बजे आफ्नै परिसरमा आयोजना हुने कार्यक्रममा निर्वाचित सदस्यहरूलाई औपचारिक रूपमा प्रमाणपत्र प्रदान गर्ने जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउत का अनुसार उक्त कार्यक्रममार्फत राजनीतिक दलहरूले सिफारिस गरेका र आयोगद्वारा निर्वाचित घोषित सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिनेछ। यससँगै उनीहरू औपचारिक रूपमा प्रतिनिधिसभा सदस्यको हैसियतमा प्रवेश गर्नेछन्।
आयोगले यसअघि नै राजनीतिक दलहरूबाट छनोट भई पेस गरिएका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्दै उनीहरू निर्वाचित भएको घोषणा गरिसकेको छ। सोही आधारमा अब प्रमाणपत्र वितरण प्रक्रिया अघि बढाइएको हो। आयोगले निर्वाचित सदस्यहरूलाई सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र, साथै दुईप्रति पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट कुल छ राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। समानुपातिकतर्फ सिट बाँडफाँटको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ले ५७ सिट प्राप्त गर्दै अग्रस्थानमा रहेको छ भने नेपाली कांग्रेस ले २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १६, नेपाल कम्युनिष्ट पार्टी ले ९, श्रम संस्कृति पार्टी ले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ४ सिट प्राप्त गरेका छन्।
नेपालको २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ। यसअन्तर्गत प्रत्यक्षतर्फको परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको प्रक्रिया अन्तिम चरणमा पुगेको हो।
निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र वितरण गरेसँगै यसपटकको प्रतिनिधिसभा निर्वाचन प्रक्रिया औपचारिक रूपमा पूर्णता प्राप्त गर्नेछ। यससँगै नयाँ संसद् गठनको मार्ग प्रशस्त हुने र सरकार गठनका लागि राजनीतिक दलहरूबीचको छलफल अझ तीव्र हुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend