आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

जनतामा फेरि माओवादीप्रति आकर्षण बढेको प्रचण्डको दावी

जनतामा फेरि माओवादीप्रति आकर्षण बढेको प्रचण्डको दावी

 

 

काठमाडौं १७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन निर्वाचनसम्म कायम रहने बताएका छन । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले यस्तो बताएका हुन ।

‘निर्वाचन अगाडि छ र गठबन्धनकै रुपमा जाने भन्नेतिर नै हामी प्रस्टै छौ’ अध्यक्ष प्रचण्डले भने, ‘नेपाली काँग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो । काँग्रेस कार्यसमितिको पनि करिब करिब गठबन्धन कायम राखेर जाने भन्ने भइसकेपछि त्यसमा अब हामीभित्र दुविधा छैन ।’ उनले निर्वाचनमा वर्तमान सत्ता गठबन्धन मिलेरै जाने भन्दै आउने निर्वाचनलाई शान्तिपूर्ण स्वच्छ, निष्पक्ष रुपले सम्पन्न होस् र परिणामले राजनीतिक स्थायित्वलाई राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न मद्दत गरोस् भन्ने गठबन्धनको चाहाना रहेको बताए ।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र प्रत्येक सङ्कट मोचनको भूमिका खेल्नुपर्ने अवस्थामा रहदै आए पनि त्यहीअनुसार सबैले माओवादीलाई स्वीकार्ने अवस्था नहुनु विचित्रका रुपमा व्याख्या गरे । ‘तर त्यहीअनुसार सबैले स्वीकार गर्न नसक्ने बडो विचित्रको अवस्थामा छ । शान्ति सम्झौता, निर्वाचन हुँदै अहिले एमसीसीसम्म आउँदा पनि देशलाई राजनीतिक अप्ठ्यारोबाट बचाउनेमा माओवादी केन्द्र नै अग्रसर छ’, प्रचण्डको भनाइ छ ।

उनले माओवादीले खेलेको यही भूमिकाका कारण जनतामा फेरि माओवादीप्रति आकर्षण बढेको दावी गरे । ‘संविधान, समावेशी समानुपातिकको रक्षा गर्ने माओवादी नै रहेछ भन्ने बुझाई जनतामा देख्छु’, प्रचण्डको भनाइ छ । उनले नेपालको अर्थतन्त्रमा देखिएको सङ्कटबारे पनि चर्चा गरे । ‘नेपालमा केही आफ्नै प्रकृतिका समस्या छन्, अन्तराष्ट्रिय कारणले पैदा भएका समस्या, राष्ट्रिय कारणले पैदा भएका समस्या, नीतिको कमजोरीका कारणले पैदा भएका समस्या या विविध कारणले आएका समस्याको समीक्षा गर्यो भने सम्हाल्न सकिने ठाउँमै छ’, प्रचण्डको भनाइ छ । उनले नेपालको आर्थिक अवस्था सम्हाल्न नसकिने अवस्थामा नपुगेको दाबी पनि गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend