फाइल तस्वीर
काठमाडौं १४ चैत। प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार कपिलवस्तु जाँदैछन्।
सङ्घीय सांसद गुप्तासहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेतासहित विभिन्न व्यक्तिलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली कपिलवस्तु जान लागेका हुन्।
एमाले लुम्बिनी प्रदेश कमिटीले दिएको जानकारी अनुसार अध्यक्ष ओली जिल्लामा आउने भएपछि चुनावी सभाको आयोजना गरी अन्य पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने योजना बनाएको छ।
चुनावी सभामार्फत सङ्घीय सांसद गुप्ता, प्रदेश सांसद धर्म वहादुरलाल श्रीवास्तव सहित क्षेत्र नं २ र १ बाट पाँच हजार बढी अगुवा कार्यकर्ता एमालेमा प्रवेश गर्ने सो पार्टीले जनाएको छ।
यसअघि समाजसेवी मङ्गलप्रसाद गुप्तासहित चार हजार बढीलाई टीका लगाएर स्वागत गर्न अध्यक्ष ओली तीन महीना पहिले कपिलवस्तु गएका थिए।
अध्यक्ष ओलीले सोमबार बिहान भैरहवामा आयोजित पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend