आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नगरवासी र मेरो गठबन्धन छ, अरुको गठबन्धनले मलाई केही फरक पर्दैनः मेयर भूपराज अधिकारी

नगरवासी र मेरो गठबन्धन छ, अरुको गठबन्धनले मलाई केही फरक पर्दैनः मेयर भूपराज अधिकारी

 

 

काठमाडौं १४ चैत्र। स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले आफ्नो कार्यकालमा जनताका पक्षमा धेरै राम्रा काम गरेको बताएका छन् ।
उनले जनताको भावनाअनुसार नै आफूले विकास निर्माणका योजनालाई अघि बढाएकाले कोही पनि असन्तुष्ट नभएको दाबी गरेका छन् । उनले आफू लामो समयदेखि राजनीतिसँगै सामाजिक सेवामा लागेकाले जनताको हरेक सुखदुःखबारे जानकार भएको बताएका छन् । सहकारी आन्दोलनका अगुवाका रुपमा ख्याति कमाएका उनी २३ वर्षसम्म एक माध्यमिक विद्यालयको प्रधानाध्यापक भए । प्रधानाध्यापकबाट राजीनामा दिएर राजनीतिमा छिरेका उनले सम्मानजनक मत ल्याएर मेयर जिते । ‘मलाई नगरवासीले मतदान नगर्ने कुनै कारण छैन, जुनसुकै क्षेत्रमा पनि आमूल परिवर्तन गरिदिएको छु’ उनले थपे ‘सकेसम्म गरेको छु, अझै विकास कम भयो, हामीलाई बढी चाहियो भन्ने माग गर्नुभएको छ ।’ उनी एमालेको तर्फबाट मेयरमा निर्वाचित भएका हुन् । पार्टीले फेरि पनि टिकट दिएमा पहिलेको भन्दा बढी मत ल्याएर जित्ने उनको दाबी छ । उनले हिजोको दिनमा नगरवासीको लागि बाहिर बसेर धेरै काम नगर्दा पनि त्यत्रो मत आएको र अहिले आएर प्रतक्ष्य रुपमा जनताको घरदैलोमा गएर काम गरेकाले मत बढ्ने विश्वास गरेका छन् । आफू शिक्षा क्षेत्रबाट नै आएकाले सामुदायिक विद्यालयको शिक्षालाई कसरी गुणस्तरीय र व्यवस्थित बनाउनुपर्छ भन्ने थाहा छ भन्ने उनी कृषि क्षेत्रमा पनि सुधार गरेको बताउँछन् । नगरपालिकाले कृषकका लागि योजना दिएको र आवश्यक लगानीसमेत गरेको उनको भनाई छ । उनले युवायुवतीले गाउँमै रोजगार र अवसर पाएकाले विदेशिनुपर्ने अवस्थाको समेत अन्त्य हुँदै गरेको स्पष्ट पारेका छन् ।
‘म अब उठ्दिन भन्दा पनि नगरवासीले मलाई छोड्दैनन्, मेरो कामको सम्मान हो यो, नगरवासीलाई अझै विकास चाहिएको छ’ उनले थपे ‘ शिक्षा, स्वास्थ्य, रोजगार, सडक, खानेपानीका साथै हरेक क्षेत्रमा देखिने गरी उल्लेखनीय काम गरेको छु ।’ उनले केही विरोधीहरुले आफ्नो कामको विरोध गरेको हुन सक्ने बताए । ‘कोही विकास नै चाहँदैन, पुरानै अवस्थामा बस्न खोज्छ भने मेरो भन्नु केही छैन’ उनले भने ‘कसैले पनि औंलो नठड्याउने गरी काम भएको छ त्यसमा ढुक्क भए हुन्छ ।’ उनले स्थानीय तहलाई सरकराले पर्याप्त मात्रामा बजेट नदिँदा धेरै योजना भनेजस्तो गरी सम्पन्न गर्न नपाएको गुनासो पनि गरे । नगरवासीको चाहना र आवश्यकता धेरै भएकाले प्रशस्तै मात्रामा बजेट विनियोजन गर्न पनि उनले सरकारसँग माग गरे ।
निर्वाचन आयोगले फेरि पनि उम्मेदवार बन्दा वर्तमान जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनेर पहिले गरेको व्यवस्थाको विरोध गरेका छन् । ‘यो निर्णयमा मेरो आपत्ति छ, जनप्रतिनिधिमाथि अपमान गर्न खोजिएको हो, सर्वोच्चले सच्याइदियो ठिक भयो’ उनले भने ‘के झण्डै २० दिनमा के त्यो जनप्रतिनिधि सबै पैसा कुम्ल्याएर विदेशतिर टाप कस्छ भन्न खोजेको हो कि के बुझ्नै सकिएन ।’ जनप्रतिनिधिहरु सधैं जनताको सेवामा नै लाग्ने भएकाले उनीहरुको मनोबल कमजोर हुने खालका कुनै पनि निर्णय नगर्न उनले सरकार र सरोकारवालाई आग्रह गरेका छन् । उनले नगर प्रमुख भएर काम गर्दा नगरबाट धेरै कुरा सिक्न पाएको पनि बताए । ‘मैले एउटा ठूलो युनिभर्सिटीमा पढेजस्तो ज्ञान पाएको छु, अब यो ज्ञानलाई फेरि सही ठाउँमा प्रयोग गर्छु’ उनले भने ‘ म जनप्रतिनिधि हुँदा त काम गरेकै छु, भोलि पनि गरौंला, यदी म बाहिर नै बसें भनें पनि त्यहाँ सिकेको ज्ञानले पक्कै पनि गल्याङलाई सवल र समृद्ध बनाउन सहयोग गर्छ ।’
उनले आफू उम्मेदवार भए जतिवटा पार्टीले गठबन्धन गरे पनि फरक नपर्ने बताएका छन् । ‘गठबन्धनको कुरा हुन सक्छ त्यसमा मलाई डर छैन, नगरवासी मेरो पक्षमा छन् ’ उनले भने ‘अरु पार्टीलाई गठबन्धन भएकाले बलियो छौं भन्ने लागेको हुन सक्छ, त्योभन्दा माथि मसँग नगरवासीको गठबन्धन छ, यो नै मेरो जितको बलियो आधार हो ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend