काठमाडौं ११ चैत्र। तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आइपुगेका छन्। पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी विशेष विमानबाट काठमाडौं आएका हुन् ।
परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आएका हुन्। चिनियाँ विदेशमन्त्रीको रुपमा वाङको यो तेस्रो नेपाल भ्रमण हो। बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा उनलाई राखिएको छ। उनको शुक्रबार कुनै औपचारिक कार्यक्रम रहेको छैन।
चिनियाँ विदेशमन्त्री वाङ आज साँझ काठमाडौंस्थित चिनियाँ दूतावास पुग्ने छन्। त्यहाँ उनले चिनियाँ राजदूत र नेपालमा रहेका चिनियाँ समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
शनिबार विहान हाइकिङको लागि उनी शिवपुरी पुग्नेछन् । हाइकिङबाट फर्केपछि विहान १० बजे परराष्ट्रमन्त्री डा नारायण खड्कासँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्नेछन्।
परराष्ट्र मन्त्रालयमा नै दुई देशका विदेशमन्त्रीको उपस्थितमा नेपाल–चीन उच्चस्तरीय बैठक बस्ने छ। बैठक सकिएपछि दुई देशबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेका छ।
सिंहदरबारबाट निस्केपछि शनिबार उनी दिउँसो प्रधानमन्त्री निवास बालुवाटार जाने कार्यक्रम रहेको छ। त्यहाँ उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन्।
चिनियाँ विदेशमन्त्री वाङ आइतबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने कार्यक्रम रहेको छ।
त्यसपछि उनले आइतबार नै मध्यान्ह नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने कार्यक्रम छ। ओली र प्रचण्डसँग नक्सालस्थित होटेल मेरियटमा उनले भेट गर्नेछन्। आइतबार नै उनी स्वदेश फर्कने छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend