काठमाडौँ ३० फागुन । गायक प्रकाश सपुतको हालै सार्वजनिक ‘पिर’ शीर्षकको म्युजिक भिडिओप्रति माओवादीका कतिपय नेता कार्यकर्ताले आपत्ति जनाइरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने गीतलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन्।
म्युजिक भिडियोले जनयुद्ध लडेका महिलाको अपमान गरेको भन्दै माओवादी केन्द्रका केही नेता कार्यकर्ताहरूले गम्भीर आपत्ति जनाइरहेका बेला प्रचण्डले भने गीतलाई सामान्य रुपमा लिनुपर्ने बताएका हुन्।
आज बिहान धनगढी पुगेका प्रचण्डले गेटा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गीत संगीतलाई सामान्य रुपमा लिनुपर्ने बताएका हुन्।
‘त्यो गीत मैले हेर्न पाएको छैन। त्यसको त्यति विरोध गर्नु पर्ने जस्तो मलाई लाग्दैन,’ प्रचण्डले भने, ‘मान्छेहरु आफ्नू अनुभव अनुभुति अनुसार गीत कविता बनाउँछन, नाटक बनाउँछन्। डिबेट त हुन सक्छ। तर माओवादी आन्दोलनको एउटा पाटोको विषयमा कसैले चर्चा गर्यो भन्दैमा हामी आवेगमा आउन पर्ने म ठान्दिन।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend