बिष्णु प्रसाद शर्मा,
नेपाल एउटा यस्तो पवित्र भूमि हो , जहाँ धेरै जात जातिले बसोबास गरेका छन् र एक आपसमा मिलेर आ आफ्नो वैदिक सनातन कुल धर्मको पालना गर्न जानेका छन् । वेद वेदाङ्ग भित्रबाट निस्केको शक्तिले देश र देशमा रहेका जिवात्माहरुको कल्याण गर्न तेतिसकोटी देवी देवताबाट उत्साहित गराइएको छ ।
मानव दानवमा परिणत भएर विश्वलाई युद्धको विभिशिकामा होम्दाको अवस्था ,नेपालमै छिरेर भड्काउने , धर्ममा खेलवाड गराउने र एक आपसमा मिलेर बसेका जनताहरुलाई अनेकन लोभ,लालचमा विभाजन गराउने कामहरु गरिरहँदा पनि गम्भिर भएर सोच्न सक्ने धैर्यवान नेपाली जनताले बसोबास गरेको धर्म भूमिका नामले परिचित छ भनेर इतिहासलाई गर्भदेखि बयस्कसम्मै बुझौं भन्ने चाहना गर्नेहो भने अत्यन्तै गहन महत्व रहेको छ ।
इतिहासलाई गलत ब्याख्या गरेर भड्काउने विकाउका केही कथा कथित दलिय झुण्डमा रमाउने बाहेक सबै नेपालीले शर्त निशर्त कुनै पनि अवस्थामा बाह्य नियन्त्रणलाई किमार्थ स्वीकार गर्दैनन्। यो कटु सत्यता भित्र खेलवाड गर्ने दलियताका ऐजेरुहरुले नेपालका हाम्रा पुर्खाहरुलाई अपमान गरेर उनीहरुको सम्पत्तिमा खेलवाड गर्ने अधिकार छैन् ।
नेपाल आज अभिभावक बिहिन अवस्थाबाट गुज्रिरहेको पनि लामै समय भैसक्यो । नेपाली जनताले खुलेर विरोध गर्न र दलियता भित्रको स्वार्थको अंकुशबाट बाहिर निस्कन सकिरहेका छैनन् । राजाका उत्तराधिकारीले यो अवस्थालाई बुझेर पनि कुनबाटो लिने र कसरी देशको रक्षा हुन सक्दछ भनेर बोल्न सकिराखेको पनि छैन । विदेशीहरुले जता लतारे पनि त्यतै लतारिने हलिहरुले सही बाटो पहिल्याउन सक्ने हुँदै होइन । पापको कुण्ड राफिलो र गन्धपुर भएर ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामै धप् धपाई रहेको अवस्था छ । तेतिसकोटी देवी देवताको वासस्थान नेपालमा गनाउने पापकुण्डहरु पाइलैपिच्छे जमेका छन् र त्यसबाट निस्केको दुर्गन्धित रागले मानसपटलमा अधैर्यता छचल्किन थालेको र कतिबेला विष्फोट हुने हो भनेर तरंगित भई राखेको छ ।
अनाधिकृत रुपले बाह्य शक्तिराष्ट्रहरुको लगानीलाई जथाभावी रुपले स्वीकार गर्ने राजनेताको चेतना नभएकाहरुको जत्थाले नेपालको सत्ता कब्जा गरेको छ र उनीहरुलाई अपराध भन्दा अरु केही गर्नै आउँदैन । पापको घडाबाट गनाएको गन्धमात्रै बाहिर निस्किरहेको छ । इतिहास साक्षी छ , नेपाल तपोभूमि पुण्यभूमि र स्वर्गतुल्य छ । आज नेताहरुकै कारणले भयानक अवस्थामा पुग्दै छ । शर्माः नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक हुनुहुन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend