काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं ले यस वर्षको होली पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन आग्रह गर्दै सार्वजनिक स्थानमा भीडभाड नगर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल ले बिहीबार फागुन १४ गते सूचना जारी गर्दै होलीका अवसरमा खुला सडक, सार्वजनिक स्थल तथा चोक–गल्लीमा भेला भई भीड जम्मा नगर्न सबैसँग अपिल गरेका हुन् ।
प्रशासनद्वारा जारी सूचनामा खुला स्थानमा मेला–महोत्सव आयोजना गर्ने, मञ्च बनाएर सांगीतिक कार्यक्रम सञ्चालन गर्ने, मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्ने जस्ता गतिविधि नगर्न स्पष्ट निर्देशन दिइएको छ । साथै, निर्वाचन आचारसंहिता विपरीतका कुनै पनि गतिविधि नगर्न तथा नगराउन सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।
प्रशासनले आ–आफ्नो घर कम्पाउन्डभित्र अरू कसैलाई असर नपर्ने गरी परिवारजन, आफन्त तथा साथीसँगीबीच होली मनाउन सकिने जनाएको छ । तर, शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने, झैझगडा गर्ने, मादक पदार्थ सेवन गरी सामाजिक तथा पारिवारिक जीवनमा खलल पुर्याउने, कसैको इच्छाविपरीत रङ वा पानी छ्याप्ने, जबरजस्ती रङ दल्ने, पानीको फोहोरा हान्ने तथा उच्छृंखल व्यवहार प्रदर्शन गर्ने कार्य नगर्न कडाइका साथ सचेत गराइएको छ ।
यसैगरी, होली पर्वका क्रममा निर्वाचन चिह्न वा उम्मेदवारको तस्बिर अंकित पोसाक प्रयोग गर्न पनि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ ।
सूचनामा उल्लेख भएअनुसार, कसैले अमर्यादित, उच्छृंखल, अवाञ्छित वा गैरकानुनी गतिविधि गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend