सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रास्वपाका नेता चौधरीले दिए राजीनामा

रास्वपाका नेता चौधरीले दिए राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेस प्रदेश संस्थापक सदस्य तथा बारा जिल्लाका सह–सचिव एवं संगठन प्रमुख पवन चौधरीले पार्टीको साधारण सदस्यबाट समेत नरहने गरी राजीनामा दिएका छन्। उनी २०७९ सालको निर्वाचनमा बारा–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए।

चौधरीले २०७९ श्रावण ७ गतेदेखि पार्टीमा आवद्ध भई आफ्नो योग्यता, क्षमता, दक्षता र समय निस्वार्थ रूपमा समर्पण गर्दै आएको बताएका छन्।  राजनीतिमा युवा पुस्ता आउनुपर्छ  र जान्नेलाई छान्ने भन्ने मूल नाराबाट प्रेरित भएर रास्वपामा सक्रिय भूमिका निर्वाह गरेको उनको भनाइ छ।

आसन्न फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया तथा कार्यशैली पार्टीको स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत भएको उनले आरोप लगाएका छन्। संगठनमा दिनरात खटिएका सक्षम कार्यकर्ताहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधानविपरीत गतिविधि भएको तथा पार्टीका सिद्धान्त व्यवहारमा कार्यान्वयन नभएको उनको दाबी छ।

उनले आर्थिक अनियमितताबाट प्रेरित निर्णयहरूले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमा आँच पुर्‍याएको उल्लेख गर्दै यस्तो परिस्थितिमा मौन बस्न नसक्ने निष्कर्षमा पुगेको जनाएका छन्। त्यसै कारण आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको उनले स्पष्ट पारेका छन्।

राजीनामाको अन्त्यमा चौधरीले पार्टीले अहिलेसम्म दिएको अभिभावकत्व, सहकार्य र अवसरप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend