सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल इन्जिनियर्स एशोसिएसनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

नेपाल इन्जिनियर्स एशोसिएसनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । सर्लाहीको मलंगवामा कार्यरत सव इन्जिनियर प्रमोद यादवमाथि अज्ञात व्यक्तिद्वारा गोली प्रहार गरी हत्या गरिएको घटनाप्रति नेपाल इन्जिनियर्स एशोसिएसनले गम्भीर खेद प्रकट गर्दै दोषीलाई तत्काल कानुनी कठघरामा ल्याउन दबाबस्वरूप विरोधका कार्यक्रम घोषणा गरेको छ।

एशोसिएसनका अनुसार मिति २०८२ फागुन ३ गते आइतबार भौतिक पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत सव इन्जिनियर प्रमोद यादवमाथि दिनदहाडै भएको जघन्य अपराधले राष्ट्रसेवक कर्मचारीको सुरक्षा सुनिश्चित गर्न राज्य असफल भएको यथार्थ उजागर गरेको छ। नागरिकको जिउधनको रक्षा र सुरक्षित रूपमा बाँच्न पाउने अधिकारमाथि गम्भीर प्रश्न उठेको एशोसिएसनको ठहर छ।

घटना घटेको दुई दिन बितिसक्दा पनि अपराधीलाई कानुनी दायरामा ल्याउन नसकिएकोप्रति एशोसिएसनले गहिरो दुःख व्यक्त गरेको छ। दोषी पहिचान गरी कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्न दबाब दिने उद्देश्यले एशोसिएसनले मिति २०८२ फागुन ५ गतेका लागि चरणबद्ध विरोध कार्यक्रम सार्वजनिक गरेको हो।

घोषित कार्यक्रमअनुसार बिहान १० देखि ११ बजेसम्म माननीय गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइनेछ भने काठमाडौंलगायत सबै प्रदेशका सिडिओ कार्यालयहरूमा पनि ज्ञापनपत्र पेश गरिनेछ। सोही दिन सम्पूर्ण इन्जिनियरहरूले आफ्ना कार्यक्षेत्रमा कालोपट्टी बाँधेर काम गर्नेछन्। अपरान्ह १ बजेदेखि दिउँसो ३ बजेसम्म ‘पेन डाउन’ कार्यक्रम सञ्चालन गरिनेछ। साथै, साँझ ५:३० बजेपछि काठमाडौंको माइतीघर मण्डला तथा सबै प्रादेशिक कार्यालयको संयोजनमा दीप प्रज्वलन र विरोध सभा आयोजना गरिनेछ।

एशोसिएसनका अध्यक्ष सुवास चन्द्र बरालले जारी गरेको आह्वानमा यो दुःखद घडीमा सम्पूर्ण इन्जिनियरिङ समुदाय, पेशागत संघसंस्था, बुद्धिजीवी, कर्मचारी, पत्रकार तथा आम जनतालाई व्यापक उपस्थिति, एकता र ऐक्यबद्धताका लागि आग्रह गरिएको छ।

May be an image of text

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend