काठमाडौँ । नेपाल समाजवादी काँग्रेसका अध्यक्ष गोबिन्द निरौलाले नेपाल अब समृद्धिको दिशामा अघि बढ्ने दाबी गर्दै उत्पादनमुखी अर्थतन्त्र तत्काल लागू गर्नुपर्ने बताएका छन्। उनले अबको नेपाललाई कसैले रोक्न नसक्ने उल्लेख गर्दै आर्थिक रूपान्तरण नै मुख्य एजेन्डा भएको स्पष्ट पारे।
अध्यक्ष निरौलाले देशलाई उपभोगमुखी होइन, उत्पादनमुखी अर्थव्यवस्थातर्फ लैजानुपर्ने आवश्यकता औँल्याउँदै उद्योग विस्तार, स्वदेशी उत्पादन वृद्धि र बजार व्यवस्थापनमार्फत रोजगारी सिर्जना गर्न सकिने बताए। “उद्योग बढाऔँ, उत्पादन बढाऔँ, बजार विस्तार गरौँ, युवालाई रोजगारी दिऔँ यही समृद्ध नेपालको आधार हो,” उनले भने। उनका अनुसार आर्थिक आत्मनिर्भरता बिना राजनीतिक स्थायित्व सम्भव छैन।
उनले देश समृद्ध बनाउने र जनतालाई सम्पन्न बनाउने लक्ष्यसहित आफ्नो दल मैदानमा उत्रिएको बताए। अब नारा होइन, व्यवहारमा देखिने आर्थिक परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो। उत्पादन, निर्यात र रोजगारी वृद्धि नभएसम्म मुलुक बलियो हुन नसक्ने तर्क गर्दै उनले राज्यको सम्पूर्ण नीति उद्योग, कृषि र उद्यमशीलतामै केन्द्रित गर्नुपर्ने धारणा राखे।
अध्यक्ष निरौलाले नेपालले आफ्नो भौगोलिक र आर्थिक सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्नुपर्ने बताउँदै छिमेकी मुलुकहरूसँग सन्तुलित र सम्मानजनक सम्बन्ध कायम राख्दै राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने बताए। उनले विश्व राजनीति र क्षेत्रीय सन्तुलनलाई सही रूपमा बुझ्न नसक्ने शक्तिहरू अन्ततः आन्तरिक अस्थिरतातर्फ धकेलिन सक्ने टिप्पणी गरे।
निरौलाले उत्पादनमुखी विकासको अभियानमा साथ दिन आग्रह गरेका छन्। “देश बचाउन समृद्धि चाहिन्छ, समृद्धिका लागि उत्पादन चाहिन्छ,” भन्दै उनले आफ्नो दललाई साथ दिएर आर्थिक रूपान्तरणको यात्रामा सहभागी हुन आह्वान गरे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend