काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी सेनानी तथा नेपाली कांग्रेसका वरिष्ठ नेता विश्वबन्धु थापाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै थापाको निधनले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन्। उनले थापालाई नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी सेनानी, उच्चकोटिका बौद्धिक व्यक्तित्व तथा चिन्तकका रूपमा स्मरण गरेका छन्।
केसीका अनुसार थापाले नेपाली कांग्रेसको सुवर्णजीको सभापति कार्यकाल (२०११–२०१२) मा महामन्त्री तथा पार्टी प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। साथै, उनले पूर्वमन्त्री लगायत विभिन्न महत्वपूर्ण पदमा रहेर पार्टी र मुलुकको सेवामा योगदान पुर्याएका थिए।
२०१५ सालको पहिलो आमनिर्वाचनमा सांसद निर्वाचित भएका थापा अन्तिम जीवित सांसदका रूपमा रहँदै आएका थिए। २०१७ सालको अप्रजातान्त्रिक कदमपछि उहाँमा नीतिगत विचलन देखिए पनि नैतिक मूल्य र आदर्शको राजनीतिबाट कहिल्यै विमुख नभएको केसीले उल्लेख गरेका छन्।
केसीले स्वर्गीय थापासँग आफ्नो निकट सम्बन्ध रहेको स्मरण गर्दै अनुभवले खारिएका विचारसहित उपयोगी सल्लाह दिने व्यक्तित्वका रूपमा चित्रण गरेका छन्। समसामयिक विषयमा भेटघाट र छलफलमा थापाको विशेष रुचि रहने गरेको उनले बताएका छन्।
“विश्वबन्धु दाइको देहावसानले राजनीतिको एउटा युगको अन्त्य भएको अर्थमा बुझ्नु अत्युक्ति नहोला,” केसीले श्रद्धाञ्जली सन्देशमा उल्लेख गरेका छन्।
स्वर्गीय थापाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै केसीले शोकसन्तप्त परिवार तथा उनका भाइ बन्धु थापालगायत सम्पूर्ण आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend