सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल प्रथम राष्ट्रिय अभियानले निर्वाचन जनता र राष्ट्रका लागि कार्यक्रम सञ्चालन गर्ने घोषणा

नेपाल प्रथम राष्ट्रिय अभियानले निर्वाचन जनता र राष्ट्रका लागि कार्यक्रम सञ्चालन गर्ने घोषणा

काठमाडौँ । आगामी निर्वाचनलाई केवल मतगणनाको प्रक्रियामा सीमित नराखी जनचेतना र उत्तरदायित्वको उत्सवका रूपमा स्थापित गर्ने उद्देश्यसहित ‘नेपाल प्रथम’ राष्ट्रिय अभियानले “निर्वाचन जनता र राष्ट्रका लागि” कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

२०८२ साललाई लक्षित गरी अघि सारिएको यो अभियानले लोकतन्त्रको मर्म, पारदर्शिता, सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, प्रशासन र सुशासनजस्ता आधारभूत मूल्यहरूबारे नागरिकलाई सचेत बनाउने लक्ष्य लिएको छ। अभियानका राष्ट्रिय संयोजक नारायणप्रसाद ढकालका अनुसार यो पहल कुनै राजनीतिक दल, उम्मेदवार वा व्यक्तिको पक्ष–विपक्षमा केन्द्रित छैन।

“हामी कसैको प्रचारक होइनौँ,” ढकाल भन्छन्, “यो अभियान जनता र राष्ट्रका लागि हो। दलभन्दा माथि उठेर निर्वाचनलाई जिम्मेवार र अर्थपूर्ण बनाउने हाम्रो उद्देश्य हो।”

अभियानले निर्वाचनमार्फत जनताको वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्न सबै उम्मेदवार र राजनीतिक दललाई जवाफदेही बनाउने प्रयास गर्ने जनाएको छ। यही उद्देश्यका साथ देशका ७७ वटै जिल्लामा कार्यक्रम सञ्चालन गरी मतदाता, नागरिक समाज र सरोकारवालालाई सूचित र सक्रिय बनाउने तयारी गरिएको छ।

ढकालले नागरिकको सचेत सहभागिताले मात्र निष्पक्ष र पारदर्शी निर्वाचन सम्भव हुने विश्वास व्यक्त गर्दै जनतालाई मतदान प्रक्रियामा सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्। अभियानले यस यात्रामा नागरिक, संस्था र सरोकारवाला सबैको सकारात्मक सहयोग र सहकार्य अपेक्षा गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend