सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाली जनता दलको लक्ष्य सबैका लागि स्वाभिमान र सुशासन सहितको समृद्ध नेपाल होः महासचिव पोखरेल

नेपाली जनता दलको लक्ष्य सबैका लागि स्वाभिमान र सुशासन सहितको समृद्ध नेपाल होः महासचिव पोखरेल

काठमाडौं । नेपाली जनता दलले समावेशी, मानव केन्द्रित लोकतान्त्रिक समाजवादको अवधारणालाई मार्गदर्शनका रूपमा अघि बढाउँदै  ‘सबैका लागि स्वाभिमान र सुशासन सहितको समृद्ध नेपाल’ निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ। पार्टीको हालै सम्पन्न बैठकमा विचार राख्दै नेपाली जनता दलका महासचिव ठाकुर पोखरेलले उक्त लक्ष्य पार्टीको दीर्घकालीन राजनीतिक दृष्टिकोण भएको स्पष्ट गरे।

महासचिव पोखरेलका अनुसार नेपाली जनता दलको राजनीतिक दर्शन मौलिक वाद, प्रकृतिकवाद र वैज्ञानिक मानवतावादमा आधारित छ। यी सिद्धान्तले समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई समान सम्मान, अवसर र अधिकार सुनिश्चित गर्ने आधार तयार गर्ने उनको भनाइ थियो। उनले लोकतन्त्रलाई केवल राजनीतिक प्रणालीको रूपमा होइन, मानवीय गरिमा, सामाजिक न्याय र समान सहभागिताको जीवन पद्धतिका रूपमा बुझ्नुपर्ने आवश्यकता औंल्याए।

बैठकमा बोल्दै पोखरेलले वर्तमान राजनीतिक अभ्यासले जनताको अपेक्षा पूरा गर्न नसकेको उल्लेख गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितालाई केन्द्रमा राखेर नयाँ राजनीतिक संस्कार विकास गर्नुपर्ने बताए। उनले राज्यका हरेक संरचनामा मानव केन्द्रित सोच स्थापित नगरेसम्म विकास र समृद्धि दिगो हुन नसक्ने धारणा व्यक्त गरे।

उनले समावेशी लोकतान्त्रिक समाजवादमार्फत आर्थिक, सामाजिक र सांस्कृतिक विभेद अन्त्य गर्दै सबै नेपालीलाई स्वाभिमानका साथ बाँच्ने वातावरण सिर्जना गर्नु नेपाली जनता दलको प्रमुख उद्देश्य भएको बताए। “विकास केही सीमित वर्गका लागि होइन, सम्पूर्ण नागरिकको जीवनस्तर उकास्ने माध्यम बन्नुपर्छ,” महासचिव पोखरेलले जोड दिए।

बैठकमा पार्टीका अन्य नेताहरूले पनि संगठन सुदृढीकरण, जनतासँग प्रत्यक्ष संवाद र वैकल्पिक राजनीतिक शक्तिका रूपमा नेपाली जनता दललाई स्थापित गर्ने विषयमा धारणा राखेका थिए। नेपाली जनता दलले आगामी दिनमा आफ्नो विचार र कार्यक्रमलाई देशभर विस्तार गर्दै जनआधार बलियो बनाउने जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend