आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमालेका शीर्ष नेता बालुवाटारमा, देउवा–ओली वार्तामा, तात्यो राजनीति

एमालेका शीर्ष नेता बालुवाटारमा, देउवा–ओली वार्तामा, तात्यो राजनीति

 

 

काठमाडौँ १० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा विशेष वार्ता जारी छ।

बालुवाटार श्रोतका अनुसार वार्तामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र एमाले उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी छन्।

देउवासँग वार्ताका लागि एमाले अध्यक्ष ओली अघि साँझ साढे ६ बजेतिर बालुवाटार गएको उनका प्रेस संयोजक रामशरण बजगाईंले नेपालखबरलाई जानकारी दिएका छन्।

‘प्रधानमन्त्रीसँग संवादका लागि अध्यक्षज्यू अन्य नेताहरुसहित बालुवाटार जानु भएको छ’, उनले भने, ‘त्यहाँ एमसीसीसहित अन्य समसामयिक विषयमा दुईजनाबीच कुरा हुनेछ।’

संसदमा पेश भएको अमेरिकी सहायता परियोजना एमसीसी पास गराउने दौडधूपमा सत्तारुढ नेपाली कांग्रेस रहेका बेला ओलीलाई देउवाले बालुवाटार बोलाएका हुन्।

एमसीसी टेबल भए पनि सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले पास गराउने पक्षमा मत दिन नसक्ने बताइरहेका बेला संसदको ठूलो दलसँग कांग्रेसले संवाद बढाएको हो।

आइतवार संसदमा एमसीसी टेबुल भएकै दिन दुई नेताबीच वार्ता हुने तयारी थियो। तर प्रदर्शनकारीहरूले ओली सवार गाडीमा पनि ढुंगा हानेपछि दुई नेताको भेट रोकिएको थियो।

संसदमा एमसीसी पास हुनुअघि गत फागुन ५ मा ओलीसँग वार्ताका लागि देउवा बालकोट पुगेका थिए। पत्नी आरजुसहित पुगेका देउवालाई ओलीले पहिले गठबन्धन तोडेमा आफू सहकार्य गर्न तयार रहेको बताएका थिए।

फागुन ५ को बिहान देउवाले डा। मिनेन्द्र रिजाललाई ओलीसँग वार्ताका लागि बालकोट पठाएका थिए। त्यससँगै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि ओलीसँग टेलिफोन वार्ता गरेका थिए।

सोमबार मात्रै एमसीसी पास गराउनका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ दलका तीन शीर्ष नेतासँग वार्ता गरेका थिए।

अहिले प्रधानमन्त्री देउवा एमसीसी पास गर्ने विकल्प खोजिरहेका छन्। उनी सकेसम्म सत्तारुढ दलबाटै एमसीसी पास गराउने योजनामा छन्।

तर माओवादी र समाजवादीले पक्षमा मतदान गर्ने ग्यारेन्टी नभएमा उनी एमालेको साथ लिएर पनि एमसीसी पास गर्ने दाउमा छन्।

तर उता प्रमुख प्रतिपक्षी दलका नेता ओली गठबन्धन टुटाउने शर्तमा ओलीलाई सघाउन तयार भएका छन्। तर देउवाले गठबन्धन टुटाउने सम्भावना कम रहेको सत्तारुढ नेताहरु बताउँछन्।

मंगलबार मात्रै कांग्रेस महामन्त्री गगन थापाले चितवन पुगेर एमसीसीको पक्षमा मतदान नभएमा सत्तारुढ गठबन्धन तोडिने बताएका छन्। उनले एमसीसीको पक्षमा सत्तारुढ सबै दल एक नभएमा गठबन्धन भनेर कांग्रेस बस्न नसक्ने चेतावनी दिएका छन्। नेपालखबरबाट

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend