काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले राष्ट्र, लोकतन्त्र र जनअधिकारको रक्षाका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण अमर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै नेता केसीले नेपाली जनताको स्वाभिमान, सम्मान र स्वतन्त्रताका लागि सहिदहरूले गरेको त्याग अतुलनीय रहेको उल्लेख गरेका छन्। उनले सहिदहरूको बलिदानकै कारण आज देशमा लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्तिको स्वतन्त्रता सम्भव भएको बताए।
“राष्ट्र, लोकतन्त्र र जनअधिकारको रक्षा गर्दै नेपाली जनताको स्वाभिमान, सम्मान र स्वतन्त्रताका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति म उच्च सम्मान व्यक्त गर्दछु,” केसीले सन्देशमा उल्लेख गरेका छन्।
उनले सहिदहरूको त्याग, साहस र समर्पणले आजका पुस्तालाई न्याय, समानता, विधिको शासन स्थापनाका साथै दण्डहीनताको अन्त्यतर्फ जिम्मेवार नागरिकका रूपमा अघि बढ्न निरन्तर प्रेरणा दिने विश्वास व्यक्त गरे। लोकतन्त्र केवल व्यवस्थामा सीमित नभई व्यवहारमा देखिनुपर्नेमा जोड दिँदै उनले सहिदहरूले देखाएको बाटोमा हिँड्नु नै आजको प्रमुख दायित्व भएको बताए।
नेता केसीले सहिदहरूको सपना पूरा गर्ने प्रतिबद्धता नै उनीहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, मानव अधिकार र सामाजिक न्यायको संरक्षणका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।
उनले अमर सहिदहरूप्रति पुनः हार्दिक नमन तथा श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend