रुपन्देही । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेको छ। यही क्रममा राप्रपाका युवा नेता तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रज्ज्वल बोहराले भ्रष्टाचारविरुद्ध कठोर अडान र राष्ट्रिय पहिचान जोगाउने स्पष्ट प्रतिबद्धतासहित मतदातासँग समर्थनको अपिल गरेका छन्।
उम्मेदवार बोहराले आफ्नो सचिवालयमार्फत सार्वजनिक गरेको सन्देशमा “नष्ट हुन्छु तर भ्रष्ट हुँदैन” भन्ने दृढ उद्घोष गर्दै राजनीति सेवाको माध्यम हो, कमाइको साधन होइन भन्ने धारणा प्रस्ट पारेका छन्। उनले राष्ट्रवादी शक्ति कमजोर हुँदा विदेशी प्रभाव र हस्तक्षेप बलियो हुने चेतावनी दिँदै देशको स्वाधीनता, पहिचान र आत्मसम्मान जोगाउन सचेत नागरिकको भूमिका निर्णायक हुने बताएका छन्।
उनको भनाइमा, “राष्ट्रवादी कमजोर भयो भने विदेशीवाद बलियो हुन्छ। त्यसैले देश बचाउन, हाम्रो पहिचान जोगाउन यसपटक हलोमा मतदान गर्नुपर्छ।” उनले निर्वाचनलाई केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई देशको भविष्यको दिशा तय गर्ने अवसरका रूपमा लिन आग्रह गरेका छन्।

बोहराले रुपन्देही–१ का आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरूप्रति भावनात्मक अपिल गर्दै आफू विजयी भए जनताको सेवक बनेर इमानदार, पारदर्शी र उत्तरदायी ढंगले काम गर्ने प्रतिबद्धता जनाएका छन्। विकास, सुशासन र राष्ट्रिय हितलाई केन्द्रमा राखेर संसदमा आवाज उठाउने उनको दाबी छ।
चुनावी अभियानका क्रममा बोहराले स्थानीय समस्या, युवाको रोजगारी, किसानको हित, सीमावर्ती क्षेत्रका संवेदनशील विषय र राष्ट्रिय स्वाधीनताको सवाललाई प्राथमिकतामा राख्ने संकेत गरेका छन्। “मत होइन, भरोसा चाहिएको छ,” भन्ने उनको सन्देशले मतदातामाझ नैतिक राजनीति र मूल्य–आधारित नेतृत्वको बहसलाई थप चर्काएको छ।
रुपन्देही–१ मा यसपटकको चुनाव केवल व्यक्ति होइन, विचार र प्रतिबद्धताको परीक्षा भएको भन्दै बोहराले राष्ट्र, इमान र पहिचानको पक्षमा उभिन मतदातालाई आह्वान गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend