सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यसपटक परिवर्तनको पक्षमा, विकास र सुशासनको पक्षमा मतदान गरौँः प्रवल थापा

यसपटक परिवर्तनको पक्षमा, विकास र सुशासनको पक्षमा मतदान गरौँः प्रवल थापा

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई देश परिवर्तनको अवसरका रूपमा लिँदै नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रवल थापाले मतदातालाई जिम्मेवार ढंगले मतदान गर्न अपिल गरेका छन्।

आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक सन्देशमा थापाले फागुन २१ गते केवल मत हाल्ने दिन मात्र नभई देशलाई सही दिशातर्फ लैजाने निर्णायक दिन भएको उल्लेख गरेका छन्। उनले सक्षम, सबल र उत्तरदायी नेतृत्व चयन गरेर मुलुकलाई विद्यमान राजनीतिक, आर्थिक र सामाजिक संकटबाट निकास दिनु हरेक नागरिकको अधिकार मात्र होइन, कर्तव्यसमेत भएको बताए।

“आफ्नो अमूल्य मत प्रयोग गरेर योग्य नेतृत्व रोज्नु नै लोकतन्त्रको सार हो,” थापाले लेखेका छन्, “यसपटक परिवर्तनको पक्षमा, विकास र सुशासनको पक्षमा मतदान गरौँ।”

उनले काठमाडौं क्षेत्र नम्बर १ लाई राजनीतिक प्रयोगशाला होइन, विकास र अवसरको नमुना क्षेत्र बनाउने प्रतिबद्धता दोहोर्‍याउँदै शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र सुशासनलाई आफ्नो प्राथमिकतामा राखेको जनाएका छन्। युवाको सहभागिता, महिलाको सशक्तीकरण र स्थानीय समस्या समाधानमा आफू स्पष्ट रोडम्यापसहित अघि बढेको दाबी पनि गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार थापाले पार्टीको लोकतान्त्रिक इतिहास, संविधान निर्माणमा खेलेको भूमिकासँगै वर्तमान अवस्थामा देशलाई स्थायित्व र विकासतर्फ लैजान कांग्रेस नै उपयुक्त विकल्प भएको उल्लेख गरेका छन्। “देशलाई निकास दिन अनुभव र इमानदार नेतृत्व आवश्यक छ,” उनको भनाइ छ, “त्यसका लागि यसपटक प्रवल थापालाई रोजौँ।”

उनको यो सन्देशसँगै कांग्रेस कार्यकर्ता र समर्थकहरूले सामाजिक सञ्जालमा सक्रिय प्रचार सुरु गरेका छन्। घरदैलो, चिया संवाद, सामुदायिक भेटघाटसँगै डिजिटल माध्यमबाट पनि मतदाता समक्ष आफ्नो एजेन्डा पुर्‍याउने अभियान तीव्र बनाइएको छ।

फागुन २१ गते नजिकिँदै गर्दा काठमाडौं क्षेत्र नम्बर १ को चुनावी माहोल तातिँदै गएको छ। यस्तो अवस्थामा प्रवल थापाको अपिलले मतदातालाई सोच्न र निर्णय गर्न थप ऊर्जा दिएको देखिन्छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend