बाग्लुङ।राष्ट्रिय स्वतन्त्र पार्टीका बाग्लुङ जिल्ला कार्यसमिति सदस्य टेक पुन मगरले व्यक्तिलाई होइन, पार्टीलाई जिताउनुपर्ने आवश्यकता औँल्याएका छन्।
उनले अब रास्वपाको सरकार निर्माण गर्ने जिम्मेवारी पार्टीका नेता–कार्यकर्ता र समर्थकहरूको काँधमा आएको भन्दै जनतासँग गरिएको प्रतिबद्धता कागजमा सीमित नराखी व्यवहारमै देखाउनुपर्ने बताएका छन्। ‘हामी एक हौँ’ भन्ने नारा आजको अनिवार्य आवश्यकता भएको उल्लेख गर्दै उनले सबै असन्तुष्टि र फरक मत त्यागेर एकताबद्ध हुन आग्रह गरे।
पुन मगरले प्रतिद्वन्द्वी दलभन्दा पनि पुरानो राजनीतिक संस्कारलाई पराजित गर्नुपर्नेमा जोड दिँदै परिवर्तनको झण्डा उठाएर जनताको भरोसालाई शक्तिमा बदल्नुपर्ने बताए।
उनका अनुसार पार्टीले विश्वास र जिम्मेवारीसहित टिकट दिएका देशभरका ७७ वटै जिल्ला तथा सम्पूर्ण क्षेत्रका घण्टी चिन्हका उम्मेदवारहरूलाई अत्यधिक मतका साथ विजयी गराउन सबैले आ–आफ्नो ठाउँ र क्षमताअनुसार सक्रिय भूमिका निर्वाह गर्नुपर्ने छ।
उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा घण्टी चिन्हमा मतदान गर्न आग्रह गर्दै रास्वपा, निलो क्रान्ति र नेपालवादको पक्षमा जनसमर्थन बढ्दै गएको दाबी गरे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend