सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेसलाई नजिकबाट पढ्न र बुझ्नका लागि मधेस आएको बताउनु भएको छ। सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले मधेसको जीवनशैली, संस्कृति र समाज प्रत्यक्ष रूपमा बुझ्ने उद्देश्यसहित यहाँ आएको स्पष्ट पार्नुभयो।
सिमरा विमानस्थलमा अवतरण गरेदेखि विभिन्न स्थानमा मधेसवासीले देखाएको आत्मीय स्वागत र मायाले आफू उत्साहित भएको उहाँको भनाइ छ। नेपाली कांग्रेस र लोकतन्त्रका लागि मधेसले पुर्याएको योगदानको प्रशंसा गर्दै सभापति थापाले अब मधेसको भाषा, रहनसहन, भेषभूषा र संस्कार–संस्कृतिलाई गहिरोसँग बुझ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“दुई दिनको चटक देखाउन आएको होइन, सबै सिकेपछि मात्र बोल्छु,” भन्दै उहाँले मधेसलाई आत्मसात नगरी पूर्ण रूपमा नेपाली हुन नसकिने अनुभूति आफूलाई भएको बताउनुभयो।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभासदसमेत रहेका सभापति थापाले मधेसका मुद्दा संसद्मा निरन्तर उठाउँदै आएको स्मरण गराउँदै अब मधेसलाई अझ नजिकबाट बुझ्ने संकल्पसहित मैदानमा आएको बताउनु भएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend