सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

लोकतन्त्र जोगाउन काँग्रेसलाई बहुमत आवश्यक :  कृष्ण खड्का 

लोकतन्त्र जोगाउन काँग्रेसलाई बहुमत आवश्यक :  कृष्ण खड्का 

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ राजनीतिज्ञ तथा नेता कृष्ण खड्काले लोकतन्त्रको संरक्षण र सुदृढीकरणका लागि आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई बहुमत दिनु आजको अनिवार्य आवश्यकता भएको बताएका छन्। खबरब्रेकिंगसँगको कुराकानीमा उनले काँग्रेसभित्र कुनै विवाद नरहेको र पार्टी एकजुट भएर चुनावी मैदानमा होमिएको स्पष्ट पारे।

नेता खड्काका अनुसार पछिल्लो समय नेपाली काँग्रेसले आफूलाई सुधार्दै नयाँ दिशा लिएको छ। “नेपाली काँग्रेस बदलिएको छ, अब देश बदल्ने जिम्मेवारी काँग्रेसले लिन्छ,” उनले भने, “पार्टीभित्र एकता छ, लक्ष्य स्पष्ट छ र लोकतन्त्रप्रति प्रतिबद्धता झनै मजबुत बनेको छ।”

उनले देशभर चुनावी माहोल उत्साहजनक रहेको उल्लेख गर्दै यही जनउत्साह नै काँग्रेसको बहुमत आउने आधार भएको दाबी गरे। “देशभरका जनता परिवर्तन चाहन्छन्, स्थिरता चाहन्छन् र लोकतन्त्र सुरक्षित भएको देख्न चाहन्छन्,” खड्काले भने, “त्यसको विश्वसनीय विकल्प नेपाली काँग्रेस मात्रै हो भन्ने अनुभूति जनतामा बढ्दै गएको छ।”

नेता खड्काले निर्वाचनलाई केवल सत्ता प्राप्तिको माध्यम नभई देशको भविष्य तय गर्ने ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने धारणा राखे। “यो चुनावमा जनताले विवेक प्रयोग गर्न जरुरी छ,” उनले भने, “क्षणिक लाभ, भ्रम र उत्तेजनामा होइन, दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर मत दिनुपर्छ।”

लोकतान्त्रिक मूल्य, समावेशी विकास, सुशासन र नागरिक अधिकारको संरक्षणमा काँग्रेसको भूमिका ऐतिहासिक रहेको स्मरण गराउँदै उनले आगामी दिनमा पनि यही मार्गमा पार्टी अघि बढ्ने विश्वास व्यक्त गरे। खड्काले मतदातालाई सचेत निर्णयमार्फत लोकतन्त्रलाई बलियो बनाउने जिम्मेवारी पूरा गर्न आह्वान गरे।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend