काठमाडौँ । नेकपा (एमाले)का नेता पुन्यप्रसाद ढकालले आसन्न निर्वाचनमा सचेत, जिम्मेवार र दूरदर्शी निर्णय गर्न मतदातालाई आग्रह गरेका छन्। उनले आदरणीय मतदातालाई सम्बोधन गर्दै देशलाई विनाशतर्फ लैजाने कि उज्ज्वल भविष्य निर्माणको मार्गतर्फ अघि बढाउने निर्णय मतदाताकै हातमा रहेको बताएका छन्।
ढकालका अनुसार एउटा मतले मात्र पनि देशको भविष्यको दिशा तय गर्न सक्छ। “राम्रा, योग्य र सक्षम उम्मेदवार रोजिएनन् भने पाँच वर्ष पछुताउनुपर्ने अवस्था आउन सक्छ,” उनले भने, “हावादारी कुरा र क्षणिक ‘लै–लै’ मा फसेर भोट हाल्नु अघि दश पटक सोच्न जरुरी छ।”
उनले राजनीतिक चेतनाको अभावले देशले बारम्बार गलत नेतृत्व भोग्नुपरेको उल्लेख गर्दै यसपटक मतदाताले गम्भीर आत्ममन्थनसहित निर्णय गर्नुपर्नेमा जोड दिए। ढकालले देशको स्थायित्व, विकास र भविष्य निर्माण गर्ने स्पष्ट दृष्टिकोण एमालेसँग मात्रै रहेको दाबी गरे।
“यो देशको भाग्य र भविष्य निर्माण गर्ने सामर्थ्य एमालेसँग छ,” उनले भने, “तर पार्टी मात्र होइन, पार्टीभित्रबाट पनि योग्य, इमानदार र सक्षम उम्मेदवार छान्नु आजको आवश्यकता हो।”
ढकालले विकास, सुशासन र राष्ट्रिय स्वाभिमानलाई प्राथमिकतामा राख्ने नेतृत्वलाई जिताउन आग्रह गर्दै मतदाताको विवेकपूर्ण निर्णयले मात्रै बलियो राष्ट्र निर्माण सम्भव हुने विश्वास व्यक्त गरे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend