काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित सदस्यलाई पत्र लेख्दै आफ्ना उम्मेदवारहरूलाई विजयी गराउन उच्च मनोबलका साथ सक्रिय हुन आग्रह गरेका छन्।
अध्यक्ष ओलीले शनिबार साँझ पार्टीका ६ लाख ६३ हजार सङ्गठित सदस्यलाई व्यक्तिगत रूपमा पत्र पठाउँदै आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने विषयमा निर्णायक फैसला गर्ने उल्लेख गरेका छन्।
पत्रमा ओलीले देश निर्माणका लागि नेकपा एमालेलाई बहुमत आवश्यक रहेको उल्लेख गर्दै बहुमत प्राप्तिका लागि पार्टीका उम्मेदवारहरूको विजय अपरिहार्य भएको बताएका छन्। उनले उम्मेदवारको जित सुनिश्चित गर्न सबै कमरेडको सक्रिय सहयोगको अपेक्षा गरिएको उल्लेख गरेका छन्।
पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार ठूलो सङ्ख्यामा रहेका पार्टी सदस्यलाई निर्वाचन प्रचारमा सक्रिय बनाउन अध्यक्ष ओलीले पत्राचार गरेका हुन्। अध्यक्षले व्यक्तिगत रूपमा पत्र लेखेर सदस्यहरूलाई हौसला प्रदान गर्नुभएको शाहीको भनाइ छ।
शाहीका अनुसार देशमा विध्वंस र आगजनी गर्ने प्रवृत्तिलाई चुनावी मैदानबाटै पराजित गर्दै निर्माण र देशको नेतृत्व एमालेले गर्नुपर्छ भन्ने सन्देश पार्टी सदस्यमार्फत आम मतदातासम्म पु¥याउने उद्देश्यले पनि यो पत्राचार गरिएको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend