काठमाडौँ। आज राष्ट्रियसभाको निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। निर्वाचनका सबै तयारी पूरा भएको आयोगले जनाएको छ।
कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् भने बाँकी १७ पदका लागि आज मतदान हुँदैछ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कोशी प्रदेशको खस आर्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन्।
बाँकी १७ पदका लागि सातै प्रदेशमा मतदानस्थल र मतदान केन्द्र तोकिएका छन्। कोशी प्रदेशका लागि विराटनगर, मोरङस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान हुँदैछ। मधेस प्रदेशमा जनकपुर उपमहानगरपालिका–४ धनुषामा रहेको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान केन्द्र निर्धारण गरिएको छ।
त्यसैगरी बागमती प्रदेशमा हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरस्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान हुनेछ। गण्डकी प्रदेशका लागि पोखरा, कास्कीस्थित प्रदेश निर्वाचन कार्यालय परिसर, लुम्बिनी प्रदेशमा घोराही दाङस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशमा वीरेन्द्रनगर सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय परिसर तथा सुदूरपश्चिम प्रदेशमा धनगढी कैलालीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान हुने तय गरिएको छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख, साथै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend