रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता प्रज्जवल बोहराले चुनावी भेटघाटलाई तीव्र बनाएका छन्। यही क्रममा आज ओमसतिया गाउँपालिका वडा नम्बर १ मा भएको भेटघाट कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ।
स्थानीय टोल–टोलमा पुगेका बोहरालाई भेट्न सर्वसाधारणको उल्लेख्य सहभागिता देखिएको थियो। कार्यक्रममा आमाबुबा, दिदीबहिनी, दाजुभाइ, युवा तथा ज्येष्ठ नागरिकहरू खुला रूपमा सहभागी भएका थिए। भेटघाटका क्रममा स्थानीय बासिन्दाले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै वैकल्पिक शक्तिको आवश्यकता औंल्याएका थिए।
उम्मेदवार बोहराले ओमसतिया क्षेत्रका जनताको न्यानो स्वागत र आत्मीयताले आफूलाई थप जिम्मेवार बनाएको बताए। उनले भने, “जनताको अनुहारमा देखिएको आशा र खुशी नै मेरो शक्ति हो। यो क्षेत्रका समस्या केवल कागजमा होइन, व्यवहारमै समाधान गर्ने प्रतिबद्धता लिएर म चुनावी मैदानमा आएको हुँ।”
भेटघाटमा कृषि, रोजगारी, युवा पलायन, शिक्षा, स्वास्थ्य सेवा र स्थानीय पूर्वाधारका विषयमा व्यापक छलफल भएको थियो। बोहराले परम्परागत राजनीति असफल भइसकेको भन्दै राष्ट्र, धर्म, संस्कृति र जनजीविकाको संरक्षणलाई प्राथमिकतामा राखेर संसदमा आवाज उठाउने प्रतिबद्धता जनाए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट ‘हलो’ चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका बोहराले स्वच्छ, जवाफदेही र जनउत्तरदायी राजनीति नै आजको आवश्यकता भएको धारणा राखे। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले युवा उम्मेदवारप्रति भरोसा व्यक्त गर्दै यसपटक फरक निर्णय गर्न चाहेको संकेत दिएका थिए।
चुनावी भेटघाटका क्रममा ओमसतिया गाउँपालिका वडा नम्बर १ को माहोल उत्साहपूर्ण देखिएको थियो। समर्थकहरू हलो चिन्ह अंकित झण्डा र नारासहित उम्मेदवारको पक्षमा उभिएका थिए। जनताको यो सकारात्मक प्रतिक्रिया र सक्रिय सहभागिताले रुपन्देही क्षेत्र नम्बर १ मा चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रज्जवल बोहराले घरदैलो, जनसंवाद र प्रत्यक्ष भेटघाट कार्यक्रमलाई अझ व्यापक बनाउने बताएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend