काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी, नेकपाले बागी उम्मेदवारी दर्ता गरेका हरिबोल गजुरेलसहित सात जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीले शनिबार जारी गरेको विज्ञप्तिमा आगामी फागुन २१ गते हुने आमनिर्वाचनका सन्दर्भमा पार्टीको निर्णय र निर्देशन विपरीत उम्मेदवारी दर्ता गरेको तथा त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक र प्रचारक बनेको आरोप लगाउँदै कारबाही गरिएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनात्मक कारबाही स्वरूप सम्बन्धित व्यक्तिहरूलाई पार्टी सदस्यताबाट निष्कासन गरिएको जनाइएको छ।
निष्कासित हुने नेताहरूमा हरिबोल गजुरेल, महेश्वर दाहाल, कुलप्रसाद केसी, मेजर राई, धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन्। नेकपाले निर्वाचनको संवेदनशील समयमा पार्टी अनुशासन उल्लङ्घन गर्ने गतिविधि सह्य नहुने स्पष्ट पारेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend