बारा । राष्ट्रिय एकता दलका अध्यक्ष बिनय यादवले बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएसँगै उक्त क्षेत्रको राजनीतिक वातावरण एकाएक तातेको छ। उनको उम्मेदवारीलाई लिएर स्थानीयस्तरमा चासो बढेको छ भने चुनावी बहसको केन्द्रमा राष्ट्रिय एकता दल उभिएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय एकता दलले व्यापक प्रचार–प्रसार थालेको छ। घरदैलो, कोणसभा र जनसंवादमार्फत पार्टीले आफ्ना एजेन्डा जनतासमक्ष पुर्याइरहेको छ। यसपटक यादव तुल्सी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका छन्, जुन चिन्हलाई दलले आस्था, संस्कृति र पहिचानसँग जोडेर प्रस्तुत गरिरहेको छ।
राष्ट्रिय एकता दलले हिन्दु राष्ट्र स्थापनालाई मुख्य मुद्दाका रूपमा अघि सारेको छ। दलका अनुसार देशको पहिचान, संस्कृति र राष्ट्रिय एकतालाई मजबुत बनाउने अभियानकै निरन्तरताका रूपमा यो चुनाव लडिएको हो। यही मुद्दाका कारण बारा–४ मा पार्टीप्रति आकर्षण बढ्दै गएको देखिन्छ।
पछिल्लो समय राष्ट्रिय एकता दलमा विभिन्न क्षेत्र र पृष्ठभूमिका व्यक्तिहरू प्रवेश गर्न थालेपछि अध्यक्ष यादव थप उत्साहित देखिएका छन्। पार्टी प्रवेशको लहरलाई उनले जनताको भरोसा र परिवर्तनको संकेतका रूपमा व्याख्या गरेका छन्।
बारा क्षेत्र नम्बर ४ मा अबको चुनाव सामान्य प्रतिस्पर्धा मात्र नभई विचार, पहिचान र दिशाको बहसमा रूपान्तरण हुँदै गएको छ। तुल्सी चिन्हसहित मैदानमा उत्रिएका बिनय यादवको उम्मेदवारीले यो क्षेत्रलाई चुनावी चर्चाको केन्द्रमा ल्याएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend